२२ चैत, पर्वत । जिल्लामा सञ्चालीत जलविद्युत आयोजनाहरुका कारण पर्वतको प्रसिद्ध असला माछा क्रमशः लोभ हुने भएका छन् । मोदी खोलामा सञ्चालीत जलविद्युत आयोजनाहरुका कारण खोलामा पानीको बहाव कम हुन थालेपछि खोलाका असला माछाहरु क्रमशः लोभ हुन थालेका छन् ।
विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको हो ।
मोदी खोलामा अहिले ३ वटा जलविद्युत आयोजनाहरु सञ्चालनमा छन् । आयोजनाहरुले खोलाको पानी डाइभरर्सन गर्दा खोलामा छोड्नुपर्ने १० प्रतिशत पानी खोलामा नछोड्दा खोलामा पानीको वहाव शुन्य प्रायः बन्ने गरेको छ ।
कुश्मा–पोखरा सडक छेउमा पर्ने मोदी खोला सुकेको सबैले प्रस्ट देख्ने गरेको भए पनि कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय चुपचाप देखिएको स्थानीयको भनाइ छ । पर्वत जिल्लाको मोदी खोला असला माछाको लागि देश भर परिचित छ । हिमनदी भएका कारण मोदी खोलाको चिसो पानीमा रहने असला माछाको प्रति केजी २ हजारसम्म विक्री हुने गर्दछ । पर्वतको नयाँपुल, आम्बोट र डिमुवा बजारका विभिन्न होटल रेष्टुरेष्टहरुमा असला माछा पाइने गर्दछ ।
मोदी खोलाको असला माछा खानकै लागि भनेर पोखरा, बागलुङ र देशका अन्य शहरबाट मानिसहरु पर्वत आउने गर्दछन् । असला माछालाई संरक्षण गर्नका लागि स्थानीय पालिकाहरुले पनि ठोस कार्यक्रम बनाएको देखिदैन् । मुख्य गरी कुश्मा नगरपालिका र मोदी गाउँपालिकाले मोदी खोलामा पाइने असला माछा संरक्षणको लागि जलविद्युत आयोजनाहरुसंग समन्वय गर्नुपर्ने देखिन्छ ।




