२० चैत, काठमाण्डौं । सडक निर्माणको लागि कच्चा पदार्थको अभाव देखाउदै निर्माणधिन मालढुंगा वेनी सडक खण्डको निर्माण कार्य निर्माण कम्पनीले ठप्प पारेको छ । निर्माण कम्पनीका एपेक्स खडका कृष्ण जेभीले कालीगण्डकी नदीको कच्चा पदार्थ प्रयोग गर्न नपाइएको भन्दै निर्माण कार्य रोकेको हो ।
२०७७ सालमा झण्डै ५८ करोडको लागतमा ठेक्का सम्झौता भई निर्माण कार्य भईरहेको कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड मालढुंगा वेनी सडक खण्डको निर्माण कार्य अहिले रोकिएको छ । निर्माण कम्पनीले नदीजन्य वस्तुको उत्खनन्मा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजीम सामाग्री प्रयोग गर्न नपाए पनि निर्माण कम्पनी सोहि कारण देखाउदै निर्माण कार्य बन्द गरेको हो ।
२०७८ साल असार २९ गते सर्बोच्च अदालतले अर्को आदेश नआउँदासम्मको लागि कालीगण्डकी नदीको पर्यावरण संरक्षणका सम्बन्धमा अन्तरीम आदेश जारी गर्दै सामाग्री उत्खनन्मा रोक लगाएको थियो । सडक निर्माण कम्पनी एपेक्स खडका कृष्ण जेभीले अदालत सामु उक्त आदेश बदर गर्नका लागि उत्प्रेरक आदेशको माग गर्दै दर्ता गरेको रिट उपर पुनः सुनुवाई्र गर्दै २०७९ साल चैत १४ गतेका दिन अन्तरिम आदेशलाई नै निरन्तरता दिने आदेश सुनाएको छ ।
आयोजनाले भने नदीकै सामाग्री प्रयोग विना सडक निर्माण कार्य अगाडि बढाउन नसकिने उल्लेख गर्दै निर्माण कार्य चैत १६ गते देखि बन्द गरिएको जनाएको छ ।
सडक निर्माण कार्य रोकिए पछि संघीय संसदको प्रतिनिधि सभामा समेत यो विशेषले प्रवेश पाएको छ । आइतबार मात्रै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद पदम गिरीले सडक कार्य रोकिएको प्रति संसदको ध्यानाकर्षण गराएका छन् । उनले बर्षात नजिकिदै जाँँदा यात्रा थप जोखिमपूर्ण हुने भन्दै सडक निर्माण कार्य तत्काल अगाडि बढाउन समेत उनले सरकारसंग माग गरे ।
उता, निर्माण कम्पनीले भने जिल्ला प्रशासन कार्यालयलाई एक पत्र लेख्दै निर्माण कार्य रोकिएको जनाएको छ ।





