१० चैत, काठमाण्डौं । नेकपा एमालेले देश र जनताका हितमा सरकारले गर्ने निर्णय, ल्याउने विधेयक र बनाउने कानुनको समर्थन र विपक्षमा आउने जुनसुकै विषयको एमालेले सशक्त प्रतिवाद गर्ने जनाएको छ । ‘देश र जनताको पक्षमा आउने जतिपनि विधेयकहरू छन्, ती विधेयकहरूलाई संसद्बाट प्रक्रियागत ढंगले छिटोभन्दा छिटो पास गरेर लैजाने कुरामा हाम्रो सम्पूर्ण रूपले साथ सहयोग र समर्थन हुन्छ’, प्रमुख सचेतक पदम गिरीले भने, ‘तर नेपाली जनता र मुलुकको हितविपरीत र स्वार्थ समूहको हित र कसैको ‘भेस्टेड इन्ट्रेस्ट’ पुरा गर्ने हिसाबले विधेयकहरू आउँछन् र ती विधेयकहरू विस्तृत रूपमा समितिमा पनि छलफल नगरी फास्ट ट्र्याकबाट पारित गर्ने प्रयास गरिन्छ भने त्यस्ता कुराको एमालेले सशक्त विरोध र प्रतिवाद गर्छ ।’
उनले विधेयकहरू सत्तापक्षलाई टेबल गर्ने अधिकार भए पनि ती विधेयकहरू कसका लागि भन्ने प्रश्न महत्त्वपूर्ण हुने बताए । ‘त्यसैले सबै विधेयकहरूको विरोध गर्नैपर्छ, समयमा पास गर्न दिनुहुँदैन भनेर एमालेले भन्दैन,’ गिरीको भनाइ छ ।
नेकपा एमालेले सबैभन्दा शंका व्यक्त गरेको टीआरसी विधेयक नै भएको उनले बताए । ‘टीआरसी विधेयकमा धेरै कुरा यस्तो छ कि पीडितहरूलाई न्याय नदिने ढंगले प्रस्ताव गरेर विधेयकका रूपमा आएको छ । त्यसलाई सदनभित्र विधिसम्मत छलफल र संसदीय समितिमा समेत लगेर छलफल गर्नेभन्दा पनि फास्ट ट्र्याकबाट पास गर्ने उद्देश्य छ,’ उनले भने, ‘यदि त्यस्तै कुरा भए पनि हामी न्याय, मानवअधिकार र पीडितहरूका पक्षमा बोल्नुपर्ने हुन्छ ।’
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा भने एमाले पनि मौन जस्तै बस्ने भएको छ । ‘संवैधानिक परिषद्सम्बन्धी विधेयकमा हामी विरोध गर्दैनौँ । केही रह्यो भने संशोधन प्रस्ताव हाल्छौँ र समितिमा छलफल गरेर पारित गरेर जाने पक्षमा छौँ,’ प्रमुख सचेतक गिरीको भनाइ छ ।
नेकपा एमाले यही चैत ६ गतेदेखि संसदमा प्रमुख प्रतिपक्षको वेञ्चमा पुगेको छ । ‘हामी प्रमुख प्रतिपक्षमा छौँ, सरकारले गरेका कामहरूको गुण र दोषका आधारमा विरोध र समर्थन गर्छौँ,’ आगामी दिनमा संसद्मा एमालेले खेल्ने भूमिकाबारे गिरीले भने, ‘सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर जनजीविकाको पक्षमा, विकास र समृद्धिका पक्षमा आउन चाहे एमालेको साथ र समर्थन रहन्छ । तर नेपाल र नेपाली जनताको हित नभई अरू कसैको स्वार्थमा काम गर्छ र मुलुकलाई बर्बादीको बाटोमा लाने काम हुन्छ भने सशक्त र खरो हिसाबले प्रतिवाद र विरोध गर्छौँ ।’ रातोपाटी अनलाइनमा समाचार प्रकाशीत छ




