३ चैत, पर्वत । पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो ।
आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आलेमाथि आक्रमण भएको पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका २ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।
घट्नामा संलग्नलाई कारबाही गर्न माग
बैंक सञ्चालकहरुको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको सीबीफीनले जनाएको छ ।
बिहीबार सिबिफिनले एक विज्ञप्ति जारी गर्दै सापकोटा र रआलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न सीबीफीनले माग गरेको हो ।
सीबीफीनले बैंकिङ सेवालाई निर्वाधरुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग अपिल समेत गरेको समाचार अनलाईन खबरले प्रकाशित गरेको छ ।




