२२ माघ, पर्वत । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री खगराज अधिकारीले मितब्ययीता र पारदर्शीता आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् । शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा एमाले कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्य मन्त्री अधिकारीले प्रदेश सरकार खर्च कटौतीको महाअभियानमा लागेको भन्दै मितब्ययी भएर अवको सरकार सञ्चालन हुने बताए ।
मुख्य मन्त्री अधिकारीले देशको आर्थिक अवस्था क्रमशः समस्यामा पर्दै गईरहेको तर्फ इंकित गर्दै गण्डकी प्रदेश सरकारले मन्त्रालय घटाएर मितब्ययी शासनको शुरुवात गरेको बताए । अधिकारीले ब्यक्तिगत रुपमा मुख्य मन्त्री र मन्त्रीहरु घरमा गएर खाने दिनको अन्त्य भएको बताए । उनले ब्यक्तिगत कामको लागि ब्यापारीहरुको घर दैलोमा आफू नजाने समेत उल्लेख गरे । उनले भने –‘म सरकारमा हुने दिनसम्म नीजि घरमा कसैकोमा पनि जान्न ।’ मुख्यमन्त्री अधिकारीले होम स्टे नाउँमा अनावश्यक खर्च भईरहेको समेत उल्लेख गरे । होम स्टे देखाउने र अपारदर्शीतापूर्वक खर्च गर्ने कामको अव अन्त्य हुने उल्लेख गरे ।
सासन, मितब्ययीता र पूँजीगत खर्चलाई प्राथमिकताका साथ अघि बढाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
मुख्य मन्त्री अधिकारीले आयोजनाहरुको काम विना कारण रोकिने गरेको प्रति टिप्पणी गर्दै सवै आयोनजाहरुको काम शुरुवात गराउन सरकारले सक्दो पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
मुख्य मन्त्री अधिकारीले हिजो नै पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा आयोजीत सातौं पर्वत महोत्सवको समापन समेत गरेका थिए । महोत्सवको समापन कार्यक्रममा बोल्दै अधिकारीले गण्डकी प्रदेश संस्कृतिमा धनि प्रदेश रहेको समेत उल्लेख गरे ।




