काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकारले निर्वाचन घोषणा गर्न तयार नरहेको आरोप लगाएका छन् । आज संसदमा उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्न कुन शक्तिले रोक्यो ? त्यसको जवाफ दिए सबै कुरा थाहा हुने थियो ।’
संविधान संशोधनको कुरा बेमौसमको बाजाभन्दै एमाले सांसद रावलले भने, ‘कसको निर्देशनमा ल्याइएको छ यो संशोधन प्रस्ताव ?’
संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतले एयर मार्शल माग गरेकोमा विरोध गर्दै मुलुकको राष्ट्रिय सुरक्षामा ठूलो चुनौती थपिएको बताए । उनले भारतीय नेताले संविधानका विषयमा कुरा गरेर आन्तरिक राजनीतिकमा हस्तक्षेप गरेको बताए ।
राष्ट्रिय राजनीतिलाई विकृत गर्ने कार्य गरेको भन्दै एमालेका उपाध्यक्ष रावलले भने, ‘संविधान संशोधनसँग मन्त्री पद साट्ने कार्य भएको छ ।’
सीके राउत जस्ता विखण्डनकारीलाई बढावा दिने कार्य वर्तमान सरकारले कार्य गरिरहेको भन्दै चीन विरोधी गतिविधिहरू बढेको आरोप लगाए । उनले वर्तमान सरकारले परराष्ट्र नीति त्यागेको हो कि भन्ने प्रश्न उब्जिएको बताए । उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताहरूलाई असर पर्ने कार्य स्वयं सरकारले गरिरहेको आरोप लगाए ।
वर्तमान सरकारले शान्ति सुरक्षा गराउनु पर्ने बताएका एमाले उपाध्यक्ष रावलले भने, ‘मैले उठाएका कुराहरूको प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ ।’ उनले प्रधानमन्त्री र मन्त्रीहरूले उत्तेजना फैलाउने अभिव्यक्ति दिने गरेको आरोप लगाए । रावलले बोल्ने क्रममा संसदमा सन्नाटा छाएको थियो ।




प्रतिकृया दिनुहोस्