२७ मंसिर, पर्वत । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । सांसद पदमा निर्वाचित भएपछि पर्वतका सांसद पदम गिरीले पुल निर्माणको लागि सडक विभागका महानिर्देशकलाई भेटि दवाव दिएका थिए । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । पुल निर्माण कार्य शुरु भए पनि लामो समय देखि उक्त पुल अलपत्र अवस्थामा थियो ।
महानिर्देशक अर्जुनजंग थापालाई सडक विभागको कार्यालयमै भेट गरी सांसद गिरीले पुल निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।
यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि शुरु गरिएको थियो ।
प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताए । रसुवा/श्री गिता/फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल पुलको ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ ।
१३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाँमा लागतमा तीस महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो ।
बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ ।
गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो ।
सांसद गिरीले यस अघि जिल्लामा निर्माणधिन अन्य मोटरेवल पुलहरु र ठेक्का आब्हान गर्न बाँकी पुलहरुको विषयमा विभागको ध्यानाकर्षण गराएका छन् । उनले मालढुंगा बेनी सडक, लमायखोला मोटरेवल पुल, भुरुङदी खोला मोटरेवेल पुल, दोविल्ला मोटरेवल पुल, लुखा खोला मोटरेवल पुल, बाच्छा खोला मोटरेवल पुल, मोदी खोला मोटरेवल पुल लगाएतका पुलहरुको निर्माण कार्यको विषयमा समेत चासो राखेका थिए । सवै पुलहरुको समयमै निर्माण कार्य सक्न र अलपत्र पुलहरुको निर्माण कार्य अघि बढाउन विभागलाई निर्देशन समेत दिएका थिए । सांसद पदमा निर्वाचित भएपछि गिरीले विकास निर्माणका कामहरुमा चासो देखाएका छन् ।
यो पनि पढ्नुहोस्




