३ असोज, पर्वत । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पहाड झर्न लागेका छन् । प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ।
हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण म्यादी, बागलुङ, पर्वत र कास्की जिल्ला र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ।
मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ।
मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए।
उनकाअनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ। च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उनले बताए।
उनकाअनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन् ।
त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ।
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले दिए।
पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आकर्षित बनेको देखिन्छ।
ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ।
सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ।
प्रायजसो घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ।
मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले बताए। विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्याउन गाह्रो हुने देखिएको छ।
हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए।




