६ साउन, पर्वत । आगामी मंसीर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि यति बेला पर्वत जिल्लामा पनि देशभर जस्तै राजनैतिक दलहरु आन्तरीक तयारीमा जुटेका छन् । निर्वाचनलाई आफ्नो पोल्टामा पार्नका लागि दलहरु आन्तरीक तयारीमा जुटेका हुन् । निर्वाचनको मिति सरकारले तोकसंगै दलहरुले आन्तरीक रुपमा सांगठनिक कामहरुलाई तिव्रता दिएका छन् ।
एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पर्वत जिल्लामा नेकपा एमाले आन्तरीक तयारीमा छ । एमालेले जिल्ला कमिटिको वैठक सम्पन्न गरीसकेको छ भने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेतको आयोजना गरिसकेको छ । कार्यकर्ताहरुलाई प्रशिक्षणको माध्यमबाट निर्वाचन केन्द्रित बनाउने उद्देश्यका साथ एमाले प्रशिक्षण कार्यक्रममा अघि बढेको हो । केन्द्रिय नीति अनुसार प्रदेश हुँदै जिल्ला तहको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको एमालेले पर्वत जिल्लाका ७ पालिकाहरुमा पनि प्रशिक्षण कार्यक्रमलाई अघि बढाईरहेको छ । जनप्रतिनिधिहरुको लागि विशेष प्रशिक्षण कार्यक्रम समेतको आयोजना गरेको एमालेले पालिकासंगै वडा स्तरका भेला र प्रशिक्षण समेतलाई अघि बढाएको छ ।
एमालेले पर्वत जिल्लामा स्थानीय पालिकाहरुमा प्राप्त गरेको सफलताको विरासतलाई जोगाएर प्रदेश र संघको निर्वाचन आफ्नो पोल्टामा पार्नका लागि मेहनत गरीरहेको देख्न सकिन्छ । स्थानीय तहको निर्वाचनमा कुल जनप्रतिनिधिहरुमा एकल बहुमत प्राप्त गरेको एमाले निर्वाचनमा एक्लै भिड्ने तयारीमा छ ।
उता, नेपाली कांग्रेस पर्वतले पनि चुनावी रणनीतिहरु अलबम्बन गर्न शुरु गरेको छ । जिल्ला स्तरमा रहेका शुभेच्छुक संगठनहरुका वीचमा चरणबद्ध अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको कांग्रेसले त्यहाँबाट प्राप्त सुझाबलाई पाटीले अग्रण गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । कांग्रेसले शुभेच्छुक संगठनहरुसंगको अन्तरक्रिया पछि पाटीको जिल्ला स्तरीय चुनावी समिक्षा र अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरीसकेको छ । स्थानीय निर्वाचनमा काग्रेसले प्राप्त गरेको असफलता र असफलताका विषयमा बृहत अन्तरक्रिया कार्यक्रम मार्फत आगामी रणनीति बनाउने दौडमा कांग्रेस देखिन्छ ।
नेपाली कांग्रेसले वडा र पालिका स्तरमा पनि यस अघि निर्वाचन समिक्षा तथा आगामी निर्वाचनको कार्यनीतिक योजनाहरु निर्माण गरेको छ । स्थानीय तहको निर्वाचनमा ५ पालिका प्रमुख जिते पनि कांग्रेस सवै पालिकाहरुमा जनप्रतिनिधिको संख्यात्मक हिसाबले अल्पमतमा छ । यस अघिको निर्वाचन भन्दा झण्डै ५०को संख्याका जनप्रतिनिधिहरु कांग्रेसले यस पटकको निर्वाचनमा गुमाएको थियो । कांग्रेसंग माओवादी, समाजवादी, जसपा र जनमोर्चाको साथ रहेको थियो ।
एता, माओवादी केन्द्र भने गठबन्धनकै भरमा परेका कारण सांगठनिक गतिविधिहरु देखिने गरी गरीरहेको छैन् । गठबन्धन हुँदा प्रदेश सभामा कम्तिमा १ सिट प्राप्त गर्ने आशमा रहेको माओवादी केन्द्र भागबण्डामा संघको टिकट समेत प्राप्त गने सक्नेछ । ५ दलिय भनिएको ८ दलको गठबन्धनबाट निर्वाचन जित्ने दाउँमा रहेको माओवादी केन्द्रले यस अघि नै पालिका स्तर र जिल्ला स्तरमा निर्वाचनको समिक्षा सम्पन्न गरेको छ भने, आगामी रणनीतिहरु पनि आन्तरीक रुपमा निर्माण गरीरहेको छ । बाँकी रहेका समाजवादीले समेत प्रदेश सभामा १ सिट दावी गरीरहेका कारण गठबन्धनमा उक्त निर्णय भएको खण्डमा आफूले निर्वाचनको थप तयारी गर्ने गरी आन्तरीक तयारी गरीरहेको छ । बाँकी साना दलहरु गठबन्धनकै निर्णयको प्रतिक्षा देखिएका छन् । अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार