Print

रासायनीक मल खोज्दै पर्वतका किसानहरु सदरमुकाममा : मलको चरम अभाव

२९ साउन, पर्वत । रसायनिक मल बिनै रोपाइँ गरेका किसानले गोड्ने बेलासम्म मल नपाउँदा धान पहेँलिन थालेको बताएका छन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा रोपो सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् ।

‘मकै छरेदेखि मल पाइएको छैन । मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भने, ‘धान रोप्ने बेलामा पनि पाइएन । अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो । यो वर्ष मलकै आसमा धानखेती भित्र्याउनै नपाइने भयो ।’

फलेवास–४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किर्एको बताए । ‘३० किलो युरिया चाहिएको थियो,’ उनले भने, ‘कोटा सकिएको रहेछ । पाँच किलो ल्याएर केमा सुघाउने रु अरू मल आएपछि एकै पटक छरौंला भनेर राखेको छु ।’

४ दिनअघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको हारालुछ थियो । विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पुर्‍याएर वितरण गर्दै आएका बिहादी–३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गरे । नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताए ।

‘मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,’ पराजुलीले भने, ‘मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।’ सहकारीमार्फत वितरण गर्दै आएको मल नपाएपछि किसानले रासायनिक मलबिनै धान रोपेको उनले बताए ।

मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन् । कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन् । ‘मल नपाएर मकै पनि भएनन्,’ कुश्मा–९ का पुनाखर पराजुलीले भने, ‘धान जस्तो रोपेको हो, उस्तै छ । रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँदो रहेछ ।’ मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्छ । यो सिजनमा वर्षभरिको आधाभन्दा धेरै मलको माग हुन्छ ।

मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्र पर्वतको तथ्यांकअनुसार पर्वतमा बर्सेनि एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुन्छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख विपिनप्रसाद शर्माले बताए ।

पर्वतमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्रीवितरण गर्दै आएका छन् । साल्टको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकियो । ‘मलको माग कति थियो कति,’ साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भनिन्, ‘पुर्‍याउनै सकिएन । अब कहिले आउने हो टुंगो छैन ।’

कृषि सामग्री कम्पनीको बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिन्छ । ‘अब गुणस्तर परीक्षण लगायतका केही प्रक्रिया पूरा गरेर ल्याउने हो,’ उनले भने, ‘त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।’

यो समाचार कान्तिपुर दैनिकका पत्रकार अगन्धर तिवारीले लेखेका ह्ुन् ।