१० जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा कुल निर्वाचित जनप्रतिनिधि मध्ये ४० प्रतिशत महिलाको संख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार कुल निर्वाचित जनप्रतिनिधिहरु मध्ये ४० प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएका हुन् ।
जिल्ला भर ३१९ सिटका लागि भएको निर्वाचनमा ८६० जना उमेदवार थिए । त्यस मध्ये ३१८ जना महिला प्रतिनिधिको संख्या रहेको थियो । उमेदवारहरु मध्ये कुल १२९ जना महिलाहरु निर्वाचनमा विजयी भएका छन् । विजयी भएका महिलाहरु मध्ये प्रमुख, उपप्रमुख र वडा सदस्यहरु रहेका छन् । महिला वडा अध्यक्ष भने जिल्लामा शुन्य रहेको छ । निर्वाचित भएका कुल संख्यालाई आधार मान्दा जिल्लामा महिलाको उत्साहजनक सहभागीता देखिन्छ ।
संविधानले प्रमुख वा उपप्रमुख पदमा एक जना अनिवार्य महिलाको ब्यवस्था गरेको छ । यसैगरी वडाहरुमा महिला सदस्य र दलित महिला सदस्यलाई समेत अनिवार्य गरेको छ । यस कारण पनि महिलाको प्रतिनिधित्व भने छुट हुँदैछन् । ५ सदस्यीय वडा समितिमा कम्तिमा २ जना महिला अनिवार्य आउँछन् ।
उता, नगर र गाउँ पालिकाका प्रमुख वा उपप्रमुखमा पनि महिला एक जना दलले अनिवार्य उमेदवार बनाउनुपर्ने हुन्छ । यस पटक भने दलिय गठबन्धन भएका कारण पालिकाको प्रमुख उपप्रमुख र उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट कतिपय गाउँपालिकामा महिला उमेदवार थिएनन । गठबन्धन इतको दलले भने सवै ठाउँमा प्रमुख वा उपप्रमुख पदमा महिला उमेदवार बनाएको थियो ।




