१० जेठ, पर्वत । २०५६ सालमा माओवादी आन्दोलनमा सहभागी हुँदा उनको मनमा समाज परिर्वतनको उमंग थियो । शोषित पिडित र श्रमजीविको पक्षमा आवाज उठाउने जोश थियो । गाउँ घरमा द्धन्द्ध चर्किदै जाँदा उनको मनमा क्रान्तिकारी भावना पलायो । भूमिगत नभईकनै उनी माओवादी पाटीको सदस्य बनिन् । भूमिगत भएका आफ्ना योद्धाहरुलाई सहयोग गर्ने र शसस्त्र युद्धलाई साथ दिदै उनी अगाडि बढिन् । पर्वतको साविक कुर्घा गाविसमा कर्म घर र जन्मघर दुवै भएकी शोभा क्षेत्री २०६४ साल पछि भने माओवादीको जिल्ला सदस्य बनिन् ।
भूमिगत अवस्थामा पाटीको सदस्य लिएर वडा र गाविसको विभिन्न नेतृत्वमा बसेकी उनी अहिले माओवादी निकट किसान महासंघको केन्द्रिय सचिव छिन् । पाटीमा निरन्तरको योगदानकै कारण उनी माओवादी केन्द्र र एमाले वीचको एकताबाट बनेको नेपाल कम्युनिष्ट पाटीको नगर सचिव समेत बनिन् । पाटी विभाजन पछि उनी पुनः माओवादी केन्द्रको तर्फबाट फलेवास नगर कमिटि अध्यक्ष छिन् । राजनीतिमा महिलाहरुको उत्साहजनक सहभागीता नभईरहेको अवस्थामा शोभा एउटा यस्तो पात्र हुन् जसले परिवारमा आर्थिक उपार्जनसंगै राजनीतिका लामा गाथाहरु बनाएकी छिन् ।
राजनीतिसंगै आर्थिक क्रान्तिको काममा पनि उनको सक्रियता निरन्तर रह्यो २०६० सालमा वैंकबाट ५० हजार ऋण लिएर कृषि पेशा शुरु गरेकी उनलाई श्रीमानको अथक सार्थ र सहयोग जुट्यो । पारिवारिक साथकै कारण उनले एउटा भैंसीबाट शुरु गरेको पशुपालन अहिले बढेको छ । अहिले उनको गोठमा १५ वटा गाई छन् । दैनिक ८० लिटर दुध उत्पादन हुन्छ । श्रमजीवि वर्गको सच्चा प्रतिनिधित्व गर्ने शोभाको सामाजिक, आर्थिक र राजनैतिक कथा यत्तिमा सिध्धिदैन् । उनी ६ सय ३६ जना महिला दिदिवहिनीहरु आवद्ध हराभरा सामाजिक उद्यमी महिला सहकारीको अध्यक्ष समेत छिन् ।
विगत ६ बर्ष देखि त्यो सहकारीको उनले नेतृत्व गरीरहेकी छिन् । सहकारीका सदस्यहरुले उत्पादन गर्ने खसी बोका त्यहि सहकारी मार्फत विक्री हुन्छ । सहकारी मार्फत आर्थिक उपार्जनमा महिला सदस्यहरुलाई सहयोग पुगेको छ । २०७२ सालमा स्थापना भएको सहकारीको अहिले लाखौं पुँजी छ । सहकारीमा दैनिक १२ सय लिटर दुध संकलन हुन्छ । सहकारीमा संकलन हुने दुध, तरकारी र खसी कुश्मा हुँदै पोखरासम्म बजारीकरण हुने गरेको छ । बागलुङ र पर्वतको ९ वटा सहकारीको इन्भेसमेण्ड समूहको उनी संयोजक समेत हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट फलेवास नगरपालिकाको उपप्रमुख पदमा उमेदवार बनिन् । पहिलो प्रयास उनको असफल रह्यो । दोस्रो पटक माओवादी र कांग्रेस वीचको गठबन्धनबाट पुनः उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उमेदवार बनिन् । दोस्रो उनको प्रयास सफल भयो । अहिले उनी फलेवास नगरपालिकालको उपप्रमुख छिन् ।
संघर्षको मैदानबाट आफ्ना पाइला अघि बढाएकी शोभाले उपप्रमुखको पदभार ग्रहण गरे लगतै कोहि पनि महिला दिदिवहिनी अन्यायमा पर्न नदिने प्रतिबद्धता ब्यक्त गरिन् । वर्गिय समाजको खाडललाई राम्रोसंग बुझेकी शोभाले अन्यायमा परेका जो कोहिलाई पनि न्याय दिलाउने आफ्नो दायित्व रहेको उल्लेख गरिन् । नगरपालिकाबाट सम्पादन हुने कामहरु मध्ये कृषि क्षेत्रमा आफूले चासो राखेर कोहि पनि कृषकलाई अन्याय पर्न नदिने बताएकी छिन् । समानता र न्यायका आधारमा अनुदान वितरण नगरपालिकाबाट गराउने उनको अठोट छ । अर्थ वीट साप्ताहिकमा खबर छ




