२ जेठ, पर्वत । जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले नगरप्रमुख पदमा अग्रता लिएको छ । एमालेकै गढ मानिने कुश्मा १४ मा समेत कांग्रेसका उमेदवारले अग्रता लिएपछि एमालेलाई जोखिम बढेर गएको छ । हालसम्म कुश्मा नगरपालिका वडा न १ पाङ र वडा न १४ आर्थरको मतगणना सकिएको छ । पाङमा ५ सय भन्दा धेरै मतको अग्रता लिएको कांग्रेसले त्यो अग्रता वडा न १४ सम्म पनि कायम गरेको छ । हालसम्म ७ सय ४० मतले अग्रता लिएको कांग्रेसको मतभार कम गराउन वडा न १३ एमालेको लागि सहयोगी बन्ने देखिन्छ । यद्यपि कुश्मा २ को जारी मतगणनामा कांग्रेसकै अग्रता भएका कारण त्यो अग्रता कायम नै रहनेछ ।
कांग्रेसका आधार क्षेत्र मानिएका कुश्मा ४, ५, ८ र ९ को मत गणना गर्न बाँकी छ । उता, एमालेको आधार क्षेत्रहरु कुश्मा ६, १०, ११, र १२ को मतगणना पनि बाँकी छ । पछिल्लो समय कुश्मा १२ मा गठबन्धनका कारण एमालेको मत घट्न सक्नेछ ।
उता, कुश्मा ३ मा भने कांग्रेस एमालेको बराबरी हैसियत हुनसक्ने देखिन्छ । यसले समग्र मतपरिणाममा एमालेले कांग्रेसलाई उछिन्नका लागि धौ धौ नै देखिन्छ । यद्यपि कांग्रेसका आधार क्षेत्र मानिएका वडाहरुमा समेत एमालेलाई मत गएको खण्डमा मतान्तर घटाउन सहज हुनेछ ।
कुश्मा नगरपालिकामा कांग्रेसको तर्फबाट नगरपालिकाका संस्थापक मेयर रामचन्द्र जोशी चुनावी मैदानमा छन् भने एमालेको तर्फबाट गणेश शर्मा पौडेल चुनावी मैदानमा छन् ।
उता, उपमेयरमा भने एमालेले नै अग्रता लिएको छ । कुश्मा १ पाङ र कुश्मा २ खुर्कोटमा पनि एमालेकै अग्रता छ । उता, कुश्मा १४ को मतगणनामा मेयर पछि परे पनि उपमेयरको भने अग्रता छ । उपमेयरलाई गृह वडाको रुपका कुश्मा १ ले अग्रता दिलाएको हो भने छिमेकी वडा वडा न २ मा पनि अग्रता कायम छ । उता, माओवादीका उपमेयरलाई कुश्मा १, २ र १३ ले अग्रता दिएन् ।
कुश्मा १३ सम्म आइपुग्दा पनि एमालेकै अग्रता देखिँदा माओवादीका उपपमेयरलाई मतान्तर घटाउन हम्मे हम्मे देखिन्छ । माओवादीको आधार क्षेत्रहरु नभएका र कांग्रेसको मतको भर पर्नुपर्ने भएका कारण कुश्मा ४, ५, ८ र ९ कै भरमा उपमेयरले पनि मतान्तरण घटाउनुपर्नेछ । उपप्रमुखमा एमालेका तर्फबाट स्वस्थानी रिजाल चुनावी मैदानमा छिन भने माओवादी केन्द्रको तर्फबाट शंकर गिरी चुनावी प्रतिस्पर्धामा छन् ।





