Print

सम्बृद्ध कुश्मा निर्माणका लागि मेरो उमेदवारी : शर्मा

१८ वैशाख, पर्वत । कुश्मा नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगरप्रमुखका उमेदवार बनेका गणेश शर्मा पौडेलले सम्बृद्ध कूश्मा निर्माणका लागि आफ्नो उमेदवारी रहेको बताएका छन् । चुनावी प्रचार प्रसारका सन्दर्भमा कुश्माको दुर्लुङ पुगेका शर्माले कुश्मा नगरपालिकामा विकासको मुल फुटाउनका लागि आफ्नो उमेदवारी रहेको बताएका हुन् ।

एमालेको तर्फबाट उमेदवार बनेका शर्मा पर्वत जिल्लाको कम्युनिष्ट पाटीका संस्थापक नेता हुन् । तत्कालीन मालेको तर्फबाट २०५६ सालको निर्वाचनमा सांसदको उमेदवार रहेका शर्मा २०६४ सालको संविधान सभाको निर्वाचनमा समेत उमेदवार बनेका थिए ।

दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उमेदवार बनेका शर्माले आफूलाई गठबन्धनको समेत सहानुभूति रहेको बताए । उनले माओवादी, कांग्रेस र एकिकृत समाजवादीका कार्यकर्ताहरुले समेत आफूलाई मतदान गर्ने बताए ।

विकास निर्माणको हिसावमा कुश्मामा गुरुयोजना अझै बन्न नसकेको भन्दै चरणबद्ध विकासको मोडल आफूले ल्याउने हुँदा आगामी निर्वाचनमा आफूले जित निकाल्ने विश्वास ब्यक्त गरे ।