११ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन अन्तर्गत आज र भोली उमेदवारी दर्ताको कार्य तालिका रहेको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारी दर्ताको समय निर्धारण गरे पनि पर्वत जिल्लामा भने उमेदवारहरुको अझै टुंगो लागेको छैन् ।
निर्वाचन कार्य तालिका अनुसार प्रत्येक निर्वाचन पालिका क्षेत्रमा सोहि पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गर्नुपर्नेछ । स्थानीय पालिकाका प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुले आज र भोलीसम्ममा उमेदवारी दर्ता गराउनुपर्नेछ ।
पर्वत जिल्लामा ५ दलिय गठबन्धन र एमाले वीच प्रतिस्पर्धा हुने देखिए पनि अझै निधो भईसकेको छैन् । शनिवार रातीसम्म गठबन्धनको वैठक जारी थियो । केहि वडा र पालिकाहरुमा अझै पनि भागबण्डाको सहमती जुटन नसकेका कारण गठबन्धन वीच सहमती भएको छैन् । गठबन्धनमा भागवन्डाको सहमती नभएका कारण उमेदवारको अझै टुंगो छैन् ।
गठबन्धनका नेताहरुका अनुसार जिल्लाका १७ वडाहरु माओवादी केन्द्रले प्राप्त गर्ने सहमती भएको छ भने १ पालिका प्रमुख सहित ३ वटा पालिकाका उपप्रमुख तथा उपाध्यक्ष माओवादी केन्द्रको भागमा पर्ने सहमती भएको छ ।
जिल्लाको मोदी गाउँपालिका अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ भने जलजला, कुश्मा र विहादीमा उपप्रमुख तथा उपाध्यक्ष माओवादीले लिने सहमती भएको बताईन्छ ।
उता, फलेवासका उपप्रमुखमा भने समाजवादीले उमेदवारी दिने सहमती भएको छ ।
बाँकी सवैमा कांग्रेसले उमेदवारी दिनेछ । गठबन्धन भित्र माओवादी केन्द्रका कार्यकर्ताहरु भने पालिका प्रमुखहरु थोरै भएको भन्दै असन्तुष्ट छन् । माओवादीले विहादीमा अध्यक्ष दावा गरेको थियो । यसैरी जलजला र पैयू मध्ये एउटामा प्रमुखको दावा राखेको थियो ।
एमालेले जितेका ठाउँहरुमा भाग बण्डा गर्ने सहमती केन्द्रिय स्तरमा भए पनि सवै पालिकाहरुमा भने पर्वतमा त्यो सहमती नभएको श्रोत बताउँछ ।
उता, एमालेले पनि आफ्ना उमेदवारहरुको निधो गर्न सकिरहेको छैन् । पैयू गाउँपालिकामा अध्यक्ष महेन्द्र श्रेष्ठ र उपाध्यक्ष यामकुमारी रानालाई सर्वसहमत गरीसकेको छ । बाँकी पैयूका सवै वडाहरुमा पनि उमेदवार टुंगाएको छ । बाँकी ६ पालिकाहरुमा भने उमेदवार टुंगाउन सकेको छैन् । एमाले प्रदेश कमिटिले उमेदवार आज साँझसम्म टुुंगाउने एमाले श्रोत बताउँछ ।




