Print

हराएका २४ लाख कोभिड खोपको छानविन किन भएन ? : सांसद गिरी

२९ माघ, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य एव्म प्रतिनिधि सभाका सांसद पदम गिरीले २४ लाख खोपको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । उनले कोरोनाको २४ लाख खोप हराएको विषयमा सरकारको आधिकारिक धारणा नआउनु र यसको छानवीन नगरी सरकार मौन बसेको आरोप लगाएका छन् ।

सरकारले खोपको विल भरपाई पेश गरेको तर खोप नल्याएको हुनसक्ने भन्दै यस विषयमा उचित छानवीनको माग समेत गरेका छन् । तत्काली केपी ओली सरकारले ल्याएको खोप पनि समयमा नलगाउने र खोप खरिदमा घोटला गरेर २४ खोप हराउने खेलमा वर्तमान सरकार लागेको गिरीको आरोप छ ।

कुश्मा नगरपालिका वडा न १३ को अगुवा वडा भेलालाई सम्बोधन गर्दै सांसद गिरीले ओली सरकारले अघि सारेका विकास आयोजनाहरुमा कटौती गर्ने वर्तमान सरकारले जनताको पक्षमा कुनै पनि कामको शुरुवात नगरेको दावी गरे । सरकार गठन भएको ६ महिना वित्दा पनि जनताको पक्षमा रचनात्मक योजनाहरु अघि नसार्ने वर्तमान सरकारलाई विगत कांग्रेस सरकार कै निरन्तरता भएको स्मरण गरे । लामो समय सत्तामा हुँदा पनि कांग्रेसको कुनै पनि बर्षमा देश र जनताको हितमा काम नगरेको गिरीको भनाई छ ।

अगुवा वडा भेलामा नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, एमाले सचिव गोविन्द पहाडी, एमाले उप सचिव शिव पौडेल प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश गिरी, एमाले जिल्ला सदस्यहरु हरीओम लामिछाने, तेजप्रसाद शर्मा लगाएतले मन्तब्य राखेका थिए ।