५ माघ, पर्वत । पर्वत अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा शंकर गिरी नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णयबाट गिरी अध्यक्षमा नियुक्त भएका हुन् । गिरी माओवादी केन्द्रका कुश्मा नगर कमिटिका अध्यक्ष समेत हुन् ।
केहि महिना देखि रिक्त ब्यवस्थापन समितिमा प्रदेश सरकारले गिरीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । गिरीसंगै सदस्यहरुमा परशुराम पुरी, तारादेवी पराजुली र भगवती पौडेल नियुक्त भएका छन् ।
ब्यवस्थापन समितिमा नगरपालिका प्रमुख र उद्योग बाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको छ । यस अघि गोविन्द पहाडी अध्यक्ष रहेको ब्यवस्थापन समितिको म्याद सकिएपछि अस्पताल ब्यवस्थापन समिति रिक्त थियो ।
समिति रिक्त हुँदा दैनिक कार्य सञ्चालनमा समस्या आएको विषय समेत अस्पतालबाट सार्वजनिक भएको थियो । नवनियुक्त अध्यक्ष गिरीले अस्पतालमा उपचार गर्न आउने विरामीलाई सन्तुष्टि प्रदान गर्ने गरी ब्यवस्थापकीय पक्ष सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कोरोना संक्रमणको तेस्रो लहर आइरहेको बेलामा संक्रमणबाट जुध्न अस्पतालले विशेष कार्ययोजना ल्याउने समेत गिरीको भर्नाइ छ ।




