Print

एमाले पर्वतमा उप–सचिव लामिछानेको राजनैतिक छलाङ

२८ पौष, पर्वत । राजनीतिमा जेष्ठ नेताहरुको मात्र हाबी हुने गरेको बेला अहिले युवा पुस्ता पनि राजनीतिमा नेतृत्वदायी भूमिकामा पुग्न थालेका छन् । युवा पुस्ताले परिर्वतीत प्रविधिसंगै राजनीतिमा नेतृत्व गर्नुपर्ने माग उठीरहेको बेलामा पर्वतको एमालेमा पनि युवा पुस्ताको हावी भएको छ । छोटो अवधि र सानो उमेरमा नै नेतृत्वमा पुग्ने केहि सफल र भाग्यमानी युवा मध्ये एक हुन बिमल लामिछाने । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष समेत रहेका लामिछाने एमालेमा सानै उमेरमा नेतृत्वदायी भूमिकामा देखिएका छन् ।

कान्छो वडाअध्यक्ष बन्ने अवसर पाएका लामिछाने अहिले कान्छो उमेरको पदाधिकारीको रुपमा पर्वत एमालेमा सक्रिय छन् । एमालेको पाँचौ जिल्ला अधिवेशनबाट गठन भएको समितिले लामिछानेलाई २०७२ सालमा जिल्ला कमिटिको सदस्य पदमा मनोनित गरेको थियो । जिल्ला सदस्यमा मनोनित लामिछाने सोहि कार्य समितिको सचिवालय सदस्य बने ।

एकै कार्यकालमा मनोनित र सचिवालय सदस्य बनेका लामिछाने दोस्रो कार्यकालमा भने धेरै अग्रजहरुलाई पछि पार्दै उप सचिव बनेका छन् । ३ दशक उमेर समूहका लामिछाने युवा संघका केन्द्रिय सचिवालय सदस्य समेत हुन् । मोदी गाउँपालिकाका प्रवक्ता समेत रहेका लामिछानेसंगै भित्रिएका अन्य पदाधिकारी पनि युवा समूहकै पर्दछन् तर, लामिछाने युवा पंक्तिका पनि कान्छो पदाधिकारीको रुपमा सक्रिय छन् ।

एमालेको नवौं अधिवेशनबाट उप सचिव बनेका लामिछानेको पक्षमा झण्डै दुई तिहाइ प्रतिनिधिको समर्थन थियो । कार्यकर्ताहरुको रोजाईमा परेका उनी उप सचिवमा सर्वसम्मत भएका हुन् । कलिलो उमेरमा नेतृत्वमा पुगेका लामिछानेले सवै राजनैतिक कार्यभार पुरा गर्न आफूले इमान्दारीताका साथ काम गर्ने बताएका छन् ।