२२ मंसीर, पर्वत । पर्वतको फलेवास नगरपालिकाको वडा नं ९ भंगराको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले आज एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।
वि।सं। २०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको थियो । वडाको केन्द्र काउलेमा निर्माण भएको भवनमा सभाहल सहित ४ वटा कोठा रहेका छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा रु।१ करोड ५ लाखमा भवन निर्माण भएपछि कार्यालयका सेवा प्रवाहमा सहज हुने भएको छ ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मन बहादुर पौडेल क्षेत्रीले निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाँकी रहेको छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले खुल्ला आकाशमुनि रहेको नगरपालिकालाई आफु निर्वाचित भएपछि पूर्वाधार सम्पन्न बनाउने प्रयासमा लागेको बताउनुभयो । सुविधासम्पन्न कार्यालय नभएसम्म नागरिकहरुलाई सेवा प्रवाहमा असहज हुने भन्दै आफ्नो कार्यकालमा नगरले पूर्वाधारमा ठुलो फड्को मारेको विश्वास व्यक्त गर्नुभयो । संघीयताको असल अभ्यासका लागि पनि पूर्वाधारमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरको विकासका लागि गुरुयोजनाका साथ अघि बढेको पनि बताउनुभयो ।
कार्यक्रममा तमुधि नेपालका राष्ट्रिय अध्यक्ष होमबहादुर गुरुङ, एमाले नगर कमिटि अध्यक्ष देवीप्रसाद तिमिसिना, वडा अध्यक्ष मनबहादुर कुँवर, एमाले नगर कमिटि सचिब मुक्तबहादुर क्षेत्री, नेपाली काँग्रेसका विष्णु सुवेदी, माओवादी केन्द्रका नगेन्द्र गौतम, सम्पर्क मन्चका नविन क्षेत्री, गणेश क्षेत्री, प्रेस चौतारीका अध्यक्ष गणेश गिरी लगायतले बोल्नुभएको थियो । वडा अध्यक्ष गंगाधार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत होमबहादुर पौडेल र संचालन वडा सचिब कुलप्रसाद भुसालले गर्नुभएको थियो ।




