५ मंसीर, पर्वत । विरामीका लागि चाहिने अक्सीजन आपूर्तिमा सहज ल्याउनका लागि पर्वत अस्पतालमा अक्सिजन प्लान्टको जडान गरिएकोछ । ५० शैयाको स्तरोउन्नतकिो प्रक्रियामा रहेको पर्वत अस्पतालमा ४० सिलिण्डर प्रतिदिन उत्पादन गर्न सकिने क्षमताको अक्सिजन प्लान्टको शुभारम्भ गरिएको हो ।
शुक्रबार प्रतिनिधि सभाका सांसद पदम गिरीले अक्सिजन प्लान्टको शुभारम्भ गरेका हुन् । अस्पतालमा विरामीलाई अक्सिजनको अभाव हुन नदिनका लागि विभिन्न निकायहरुसंगको सहयोग र सहकार्यमा अस्पतालले अक्सिजन प्लान्टको जडान गरेको हो । अस्पतालले सांसदको पूर्वाधार साझेदार कार्यक्रम, नेपाल चिकित्सक संघ तथा चुजी फाउण्डेशन ताइवानको सहयोगमा अस्पतालमा उपकरणको जडान भएको अस्पतालका डा. ढुण्डिराज पौडेलले जानकारी दिए ।
अस्पतालमा जडान भएको अक्सिजन सिलिण्डर झण्डै १ करोड ८३ लाखको लागतमा निर्माण भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टको शुभारम्भ गर्दै सांसद गिरीले जिल्ला भर अक्सिजनको समस्या नहोस् भनेर प्लान्टको जडान गरिएकोले यसको उचित प्रयोग हुनुपर्ने धारणा राखे ।
कोरोना भाइरस संक्रमणको बेलामा अक्सिजनको हाहाकार भएकोले पर्वतमा जडान भएको प्लान्टले अव देखि अक्सीजनको ठूलो समस्या नआउने अस्पतालका डाक्टरहरुको भनाई रहेको छ । सरकारी निकाय आफैले अक्सिजन प्लान्टको जडान गर्न नसकेको बेलामा सामाजिक संघ संस्थाहरुसंगको सहकार्यमा अस्पतालले अक्सिजन प्लान्टको जडान गरेको हो ।
पर्वत जिल्लामा अक्सिजनको समस्या हुँदा अस्पतालले पोखराबाट अक्सिजनका सिलिण्डरहरु भरेर ल्याउनुपर्ने बाध्यता थियो । अव देखि अक्सिजनका सिलिण्डरहरु अस्पतालमै भर्न मिल्ने भए पछि कोरोना भाइरसका विरामी तथा स्वाशप्रश्वासका विरामीहरुलाई उपचारमा थप सहज हुने भएको छ ।




