२९ कार्तिक, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको पहिलो चौमासिकमा भएका कार्यक्रमहरुको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले प्रगति विवरण प्रस्तुत गरेका थिए । क्षेत्रीले गाउँपालिकाबाट सम्पादन भएका कार्यक्रमहरु, बजेट, उपलब्धि र आइपरेका समस्याहरुको प्रस्तुती पछि स्थानीय नागरिकहरुले गाउँपालिकालाई प्रश्नहरु राखेका थिए । गाउँपालिकाबाट प्रवाह भएका सेवाहरुको पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीपनमा गाउँपालिका सधै उत्तरदायी भएको सहभागीहरुको प्रश््रनहरुको उत्तर दिदै गाउँपालिका अध्यक्ष प्रेम पौडेले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले गाउँपालिका जिल्ला भरकै उत्कृष्ट गाउँपालिका भएको जानकारी गराउँदै सवै सुचकहरुमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएको बताए । देश भरकै गाउँपालिकाहरु मध्ये चौथो नम्बरमा गाउँपालिका पर्न सफल भएको र पछिल्लो महालेखापरिक्षकको प्रतिवेदनमा वेरुजुको अंक निकै कम देखिएको भन्दै आर्थिक प्रशासनमा गाउँपालिका मितब्ययी भएको पौडेलले बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट तेजबहादुर क्षेत्री, माओवादी केन्द्रको तर्फबाट कृष्ण सुवेदी, नेकपा एकिकृतको तर्फबाट सन्तोष कुमार गुरुङ, राप्रपाको तर्फबाट धनबहादुर अखेली तथा स्थानीय बाबुराम पराजुली लगाएतका स्थानीयहरुले गाउँपालिकाको तर्फबाट सम्पादन भएका कामहरुको बारेमा जिज्ञासा राखेका थिए ।
गाउँपालिका उपाध्यक्ष सेती महतले जनप्रतिनिधिहरुले काम गर्दा आर्थिक रुपमा प्रभावमा नपरी काम गरेको बताएकी थिइन् । उनले गाउँपालिका जनप्रतिनिधिहरुले सवैलाई एकै नजरले हेर्दै समान ब्यवहार गरेको समेत बताएकी थिइन् । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्वतका पूर्व सचिव गणेश गिरीले गरेका थिए ।




