Print

पहिरो पिडितलाई तत्काल आवासको प्रवन्ध गर्न र अवरुद्ध सडक सच्चालनमा ल्याउन सांसद गिरीको माग

२० भदौ, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले पर्वत जिल्लामा गएको पहिरोमा परि मृत्यु हुनेहरुको परिवारलाई राहत र आवासको प्रवन्ध गर्न माग गरेका छन् । पहिरोमा परी ४ परिवारका ११ जनाको मृत्यु भएको छ । पहिरोमा पीडित परिवारको लागि तत्काल आवासको ब्यवस्थापन गरी उनीहरुलाई उचित राहत ब्यवस्थापन गर्न सांसद गिरीले एक प्रेस विज्ञप्ति जारी गदैै माग गरेका छन् ।

पहिरोका कारण ४ परिवारले आफ्नो आवास गुमाएका छन् । यसैगरी ४ परिवारले परिवारका ११ सदस्य गुमाएका छन् । आफन्त गुमाएका परिवारलाई तत्काल राहत र पुर्नस्थापनाको ब्यवस्थापन गर्न सांसद गिरीले सरकारसंग माग गरेका हुन् ।

यसैगरी सांसद गिरीले पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्गको पर्वत खण्ड तत्काल खुलाउन माग गरेका छन् । उनले हजारौ सवारी साधन र यात्रुहरुले सडक अवरुद्ध हुँदा कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै यथासिघ्र सडक खुलाउन सरकारसंग माग गरेका हुन् । पहिरोका कारण मध्य पहाडी लोकमार्गको पर्वत खण्डको झण्डै ८ किलोमिटर सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । सडक खुलाउने प्रयास भएपनि लामो समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।