Print

पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध, सडक सुचारु हुन १ हप्ता बढि लाग्ने

१९ भदौ, पर्वत । निरन्तरको बर्षातका कारण मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा देखि डिमुवासम्मको पुरै भाग अवरुद्ध भएको हो ।


बर्षातका कारण कुश्मा देखि डिमुवासम्मको खण्डमा दर्जनौ पहिरोहरु खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोका कारण अवरुद्ध भएको सडक विगत ३ दिन देखि पूर्ण रुपमा बन्द रहेको छ । अवरुद्ध सडकमा ठूला ठूला पहिरोहरु खसेका कारण उक्त पहिरोहरु हटाउन हप्ता दिन भन्दा बढि समय लाग्ने जिल्ला प्रहरी कार्यालयको भनाईछ । पहिराले कुश्माको खरेहा, चुवा, दोविल्ला, परादी, ओढारे तथा मोदी खेतमा ठूलो पहिरो गएको छ ।
सडक खण्डमा गएको पहिरो हटाउन शनिवार देखि नै प्रयास गरिए पनि ठूलो पहिरो गएको र सडक नै बगेका कारण पहिरो हटाउन निकै समय लाग्ने प्रहरीको भनाई छ । पहिरोले दोविल्ला खण्डको सडक बगाएको छ भने भ्याप्ले नजिक निकै ठूलो खण्डमा पहिरो गएको छ ।


पहिरो हटाउने प्रयास शनिवार देखि नै गरेपनि पटक पटक पहिरो खसि रहेका कारण पहिरो हटाउन समस्या परेको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पहिरोका कारण मध्य पहाडी लोकगमार्गमा सयौ सवारी साधनहरु कुश्मा र डिमुवा क्षेत्रमा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालयले पहिरो छिटो हटाएर सडक खुलाउने प्रयास गरीरहे पनि बर्षातका कारण समस्या भइरहेको जनाएको छ ।