Print

मिलन चोक–रात्माटा–शालिजा–लेकफाँट सडक कालोपत्रेका लागि डिपिआरको काम शुरु

२५ साउन, पर्वत । जिल्लाको उत्तरी क्षेत्र जलजलाको महत्वपूर्ण सडक मिलन चोक रात्माटा सडक कालोपत्रेका लागि डिपिआर निर्माण कार्य शुरु भएको छ । संघिय सरकार अन्तर्गतको ग्रामीण सडक सञ्जार सुधार आयोजना (आरसिआइपि) मार्फत कालोपत्रे हुन लागेको उक्त सडकको डिपिआर निर्माण कार्य शुरुवात भएको हो ।

गत बर्ष नै डिपिआर निर्माण गरी सडक कालोपत्रेका लागि टेण्डर आब्हानको तयारी भए पनि कोरोना संक्रमणका कारण काम प्रभावित भएको प्रतिनिधि सभाका सांसद पदम गिरीले जानकारी दिए । सांसद गिरीका अनुसार डिपिआर निर्माण लगतै सडक कालोपत्रेको चरणमा प्रवेश गर्नेछ ।

जलजला गाउँपालिकाको महत्वपुर्ण उक्त सडक निर्माण हुँदा माझफाँटका केहि वस्ती तथा लेकफाँट र शालिजाको पुरै वस्ती लाभान्वित हुनेछ । जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल हम्पालको लेक, डाडाँकटेरी पुग्नका लागि समेत यो सडकले सहयोग गर्नछ ।

आरसिआइपि मार्फत निर्माण कार्यको चरणमा रहेका जिल्लाका अन्य ७ वटा सडक मध्ये यो सडक पनि पर्दछ । पूर्ववर्ती सरकारले अघि सारेका विकास आयोजनाका क्रमागत योजनाहरुलाई यो सरकारले पनि ग्रहण गर्दै जनताको विकासको चाहना पुरा गर्न कसैले बाधा पुराउन नहुने सांसद गिरीले बताए । कोरोना संक्रमण नभएको भए सडक निर्माणको चरणमा गैसकेको हुने जानकारी गराउँदै उनले संक्रमणले केहि बर्ष ढिला गरी जिल्लाका अन्य सडक समेत कालोपत्रेको चरणमा प्रवेश गर्ने भएका छन् ।

जलजला गाउँपालिकाको माझफाँट स्वास्थ्य चौकी देखि लेकफाँटसम्मको सडक केन्द्रिय रणनैतिक सडक अन्तर्गत कालोपत्रेको चरणमा रहेको छ । उता, मिलन चोक धाइरिङ सडकलाई भने प्रदेश सरकारले रणनैतिक सडक अन्तर्गत कालोपत्रेका लागि निर्माण गरीरहेको छ । मिलन चोक रात्माटा शाजिला लेकफाँट सडकको कुल १८ किलोमिटर सडक कालोपत्रेका लागि १ अर्ब भन्दा बढि बजेट लागतको अनुमान गरिएको सांसद गिरीले जानकारी दिए । डिपिआर तयार भएपछि एडिवि र नेपाल सरकारको संयुक्त कोषबाट यो सडकको निर्माण कार्य हुनेछ ।