२६ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ३ का जनप्रतिनिधि सहित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमितको अवस्था बुझ्न घरघरमा पुगेका छन् । केही दिन अघि एउटै गाउँमा १५ जना व्यक्तिमा एकैपटक संक्रमण पुष्टि भएपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि होम आइसोलेसनमा रहेका संक्रमितलाई भेटघाट गर्न घरदैलो अभियान सञ्चालन गरेका हुन् ।

दुर्लुङ गाउँमा गत विहिबार आर टि पिसिआर प्रविधिबाट परीक्षण गरिएका ६० जना मध्ये १५ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका मध्ये १४ बर्षिय बालिका देखि ७३ बर्षिय बृद्धसम्मका व्यक्तिहरु होम आइसोलेसनमा नै बस्दै आएका छन् । वडा कार्यालयले सिंगो गाउँलाई केही दिनका लागि सिल गर्न अनुरोध गरेपनि जिल्ला प्रशासन कार्यालय पर्वतले संक्रमितहरुलाई होम आइसोलेसनमा स्वास्थ्य मापदण्डका सम्पूणर् नियमहरु कडाइका साथ पालना गरेर बस्न आग्रह गरिएको थियो ।
होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई स्वास्थ्यमा कुनै जटिल समस्या आइपरेमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुरोध गरिएको र स्वास्थ्य चौकीबाट समेत फोनमार्फत संक्रमितको अवस्था दैनिक जसो बुझ्ने गरिएको दुर्लुङ स्वास्थ्य चौकीका सहइञ्चार्ज बालकृष्ण पौडेलले जानकारी दिए ‘वडा कार्यालय सँगको समन्वयमा वडाध्यक्ष सहित संक्रमितको घरघरमा पुगेर औषधी किट प्रदान गरिएको छ’ पौडेलले भने ‘सवैको अवस्था सामान्य रहेको छ ।
वडाध्यक्ष तेजप्रसाद पाध्याले संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जनप्रतिनिधिहरुको पनि सहयोग लिइएको बताए । गाउँमा लक्षण सहितका विरामीहरु धेरै देखिएको भएपनि परीक्षणका क्रममा उपस्थित नहुदाँ समस्या भएको बताए ।
पर्वतमा सोमबार सम्म २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




