२ साउन, पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको सहस्रधारामा सडक माथिवाट आएको पहिरो र लेदोले गएरातीदेखिनै सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिलेपनि लेदो खसिरहेको छ ।
सडक खुलाउनका लागि जेसिवी र सुरक्षा निकाय तयारी अवस्थामा रहेपनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रातीदेखिनै सडक अवरुद्ध भएपछि यातायात सेवा ठप्प बनेको हो ।
सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङवाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु मालढुंगामा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।
निर्माणाधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डले नागरिकहरुलाई सास्ती भएको छ । सामान्य वर्षा हुँदा समेत विभिन्न ठाउँमा पहिरो जाने क्रम नरोकिएकाले सडक पटक पटक अवरुद्ध हुँदै आएको छ । गएको असार २४ गतेदेखि अर्मादीमा गएको पहिरोले बन्द भएको उक्त सडक एक सातापछि ३१ गतेमात्रै संचालन आएको थियो ।