पर्वत, असार ३१ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम असार ३० गते पर्वतमा सम्पन्न भएको छ । सन् २०२१ को जनवरीदेखि जुन सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले समीक्षा कार्यक्रममा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले मानवअधिकारको रक्षार्थ सवै वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समय मानवअधिकार उल्लंघन सम्बद्ध घटनाहरु समुदाय भित्रै मिलापत्र हुने र सम्बन्धित स्थान सम्म नआइपुग्ने गरेका कारण तथ्याङ्कमा कम देखिएको हुन सक्ने बताउँदै सवै क्षेत्रबाट मानवअधिकारको रक्षाका लागि सचेत हुने हो भने मानवअधिकार उल्लंघटनका घटना घट्दै जानेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इन्सेकद्वारा सार्वजनिक गरिएका घटना प्रति खुशी व्यक्त गर्दै आगमी दिनमा अझै सुक्ष्म तबरबाट घटनाहरु संकलन हुनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल बार एशोसिएन पर्वतका अध्यक्ष एवं जिल्ला मानवअधिकार अवस्था अनुमगन समितिका संयोजक चन्द्रबहादुर क्षेत्रीले मानवअधिकार घटना अनुगमन तथा तथ्याङक प्रलेखिकरणले इन्सेकले गरेका कार्य जिल्लागत अबस्थथा थाहा पाउनका लागि अत्यन्तै सान्दार्भिक रहेको बताउनुभएको थियो । उहाँले कोभिड १९ को समयमा जिल्लामा कम मात्रामा मानवअधिकारका घटना घटेको तथ्याङ्क देखिएपनि पिडित वर्ग सदरमुकाम सम्म आइपुग्न नसकेकै कारण तथ्याङ्कमा घटी देखिएको हुनसक्ने बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका महिला बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई विराज ढकालले पुस देखि असार सम्मको तथ्याङ्क हेर्दा बेपत्ता हुनेहरुको संख्या बढी रहेको बताउनुभयो । यो अवधिमा झण्डै ५१ जना व्यक्तिहरु बेपत्ता भएको निवेदन आएको र केही भेटिएपनि नभेटिएका हरुको खोजि कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि सन्तोष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा बाल अधिकार सम्बद्ध २, महिला अधिकार सम्बद्ध ३, बलात्कार जन्य घटना सम्बद्ध १ र घरेलु हिंसाजन्य घटना सम्बद्ध ४ वटा घटनाहरु प्रलेखिकरण गरी सार्वजनिक गर्नुभएको थियो । यसका साथै थापाले इन्सेकको पहलमा मानवअधिकार रक्षार्थ पर्वत जिल्ला भित्र भएका क्रियाकलापहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो ।