११ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभामा प्रस्तु्त नीति तथा कार्यक्रम तथा बजेट विपन्न वर्ग केन्द्रित देखिन्छ । गाउँपालिकाको दशौ गाउँ सभामा प्रस्तुत बजेटमा गाउँपालिकाका २० युनिट विद्युत खपत गर्ने परिवारले अव देखि महशुल तिर्न नपर्ने भएको छ ।


गाउँपालिका उपाध्यक्ष सेती महतले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा यस्तो कुरा उल्लेख गरिएको हो । गाउँपालिका हाइड्रो पावरको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने हुँदा कम विद्युत खपत गर्ने परिवारका लागि सहुलियत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । अवबाट गाउँपालिका भित्रका घर परिवारले २० युनिटसम्मको विद्युत खपत गर्दा शुल्क तिर्नुपर्दैन् ।
यसैगरी गाउँपालिकाले ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष समेत सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक बर्षमा यो कार्यक्रमलाई समावेश गरिएको हो । गाउँपालिकाले दलित र बालिबालिका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै विद्यालयमा कार्यरत सवै कर्मचारीहरुको न्यूनतम पारिश्रमिमको सुनिश्चित समेत गरेको छ । करारमा रहेका समेत कर्मचारीहरुको कल्याणकारी कोष सञ्चालन गर्ने समेत बजेटमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले आगामी बर्षमा नगर प्रहरी भर्ना गर्ने गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको हो । गाउँ सभामा कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ ।




