९ असार, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पैयू गाउँपालिकाको भोर्लेमा कोरोना संक्रमीतको ठूलो संख्या फेला परेको छ । देश भर जस्तै जिल्लाका अन्य स्थानहरुमा संक्रमणको दर घट्दै गइरहेको बेलामा पैयू गाउँपालिकाको भोर्लेमा ठूलो संख्यामा संक्रमीत फेला परेका हुन् ।
कु्ल परिक्षणमा ४० प्रतिशतमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले त्यो क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेको छ । पैयू गाउँपालिकाको सिफारिस अनुसार प्रशासन कार्यालयलले कोभिड रोकथाम तथा ब्यवस्थापन केन्द्र जिल्ला स्तरीय वैठकको समेत सहमतीमा साविक भोर्ले गाविसको ४ र ५ वडा लाई जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले एक आदेश जारी गर्दै भोर्लेको हिलेलाई जोखिमयुक्त क्षेत्र घोषणा गरेकी छिन् । जोखिमयुक्त क्षेत्र घोषणा गरिएसंगै उक्त क्षेत्रमा मानिसहरुका आवजतजावतमा रोक लगाइको छ भने मानिसहरुलाई घरमै रहन निर्देशीत गरिएको छ ।
त्यो क्षेत्रमा सवै पसलहरु बन्द हुने बाहिरबाट उक्त गाउँमा अन्य मानिसहरु प्रवेश नगर्न निर्देशन जारी गरिएको छ । जिल्लाका अन्य स्थानमा संक्रमीत घटे पनि उक्त स्थानमा ५० जनाको परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको पैयू गाउँपालिकाले जनाएको छ । एउटै गाउँमा २० जना संक्रमीत भेटिनु संक्रमणको दर उच्च भएकाले उक्त क्षेत्रमा निषेधाज्ञा कडा बनाइएको हो ।