६ जेठ, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा लकडाउन सरहको निषेधाज्ञाको आज १९ औं दिन पुग्यो । वितेको २ हप्तामा पर्वत जिल्लामा कोरोना संक्रमणको दर भने ब्यापक रुपमा बढेको देखिन्छ । संक्रमण पुष्टि भए लगतै जिल्लाको सदरमुकाममा सवै पसल तथा सवारी साधनहरु बन्द गरियो ।
त्यसको एक साता भित्रै पुनः जिल्लालाई नै निषेधाज्ञा सहितको लकडाउनको अवस्थामा पुराइएको छ । यो अवधिमा प्रत्येक दिन मृत्यु दर पनि बढिरहेको देखिन्छ भने संक्रमणको दर पनि बढिरहेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतम भन्छन–‘निषेधाज्ञा अघिको संक्रमीत अहिले भेटिएका हुन ।’ गौतमले २ साता अघि नै संक्रमीत भएकाहरुको संक्रमण र मृत्यु अहिले पुष्टि भएको हुनसक्ने अनुमान गर्छन् । केहि दिन मै यो दर घटेर जाने डा. गौतमको भनाई छ ।
‘तुलनात्मक रुपमा दर घटेको निश्कर्षमा छु म’ डा. गौतमले भने–‘केहि दिनको ट्रेन हेरौ अव त्यो दर घटेर जान्छ ।’ २४ घण्टा भित्र ५ जनासम्मको मृत्युको तथ्यांक आइरहेको बेलामा यो दर घटने हो वा बढ्ने हो भन्ने आकलन अझै गर्न गाहे भने देखिन्छ ।
‘परिक्षण र मृत्यु दर पुरानै हो भन्ने हाम्रो ठम्माई छ’ डा. गौतम भन्छन–‘मानिसको जनघट अहिले घटेर गएको छ, त्यसले संक्रमण फैलन पाएको छैन ।’
स्वास्थ्यकर्मीको दावीका बाबाजुदत एउटै गाउँमा परिक्षण गरिएका मध्ये ६० प्रतिशत भन्दा बढिमा संक्रमण पुष्टि भइरहेको छ । बजार क्षेत्र बन्द छ भने, विद्यालय तथा सरकारी कार्यालय र होटल रेष्टुरेन्टहरु सवै बन्द नै छन् । यस्तो अवस्थामा संक्रमण ह्वातै घट्नको सट्टा हिजो मात्रै २४ घण्टा भित्रै ५ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।
पुष्टि हुन बाँकी मृत्युको संख्या अझै पनि छ । उमेरमको हिसावले २८ बर्ष देखि माथिल्लो उमेरका मानिसकहरुको पनि मृत्यु भइरहेको छ । यसले अवस्था निकै भयावह भएको विवरण देखाउँछ ।
अर्को तर्फ ग्रामीण क्षेत्रको जन जीवन अझै पनि सामन्य अवस्थामै रहेका कारण पनि संक्रमण अझै फैलिरहेको स्वास्थ्यकर्मीहरुको निश्कर्ष देखिन्छ ।
अस्पतालमा भर्ना भएर बस्नेहरुको विवरण पनि उल्लेख्य छ । पर्वत अस्पतालमा अहिले १६ जना विरामी उपचाररत छन् । जिल्ला भरी कुल ३२ जना आइसोलेसन अस्थायी अस्पतालहरुमा उपचाररत रहेका छन् ।
यो अवधिमा ६ सय जनामा संक्रमण पुष्टि भइसकेको छ । आधा जसो निको भइसकेका छन् भने आधा विरामी अझै पनि संक्रमीत अवस्थामा छन् ।
जिल्लामा कुल २७ जनाको हालसम्म मृत्यु भएको पुष्टि भइसकेका छ । केहि मानिसको कोरोनाकै कारण मृत्यु भए पनि आधाकारिक निकायबाट भने पुष्टि भइसकेको छैन् । यो संख्या संख्या हेर्दा कोरोनाका कारण ठूलो मानवीय क्षति पुगेको छ भने संक्रमीत हुने र उपचारका कारण सास्ती वेहोर्नेको संख्या पनि पर्वतमा ठूलो देखिन्छ ।





