Print

दुध र मासु उत्पादनमा महाशिलाको अनुदान, कृषक उत्साहित

१६ चैत, पर्वत । जिल्लाको महाशिलाले शुरुवात गरेको उत्पादनमा अनुदान कार्यक्रम मार्फत स्थानीय कृषकहरु उत्साहित भएका छन् । गाउँपालिकाले दुधमा प्रतिलिटर र खसी बोका उत्पादनमा प्रति केजी अनुदानको ब्यवस्था गरेको छ ।

स्थानीय महाशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस्तो अनुदान प्राप्त गरीरहेको छ । महाशिलाका झण्डै ६ सय ४० महिला सदस्यहरु रहेको उक्त सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दुध र खसी,बोकामा गाउँपालिकाले अनुदान रकम उपलब्ध गराउदै आएको छ । प्रति केजी मासुमा २५ रुपैंया र दुधमा प्रतिलिटर १० रुपैंया गाउँपालिकाको तर्फबाट अनुदान प्राप्त हुने गर्दछ । गाउँपालिकाको प्रोत्साहन रकम पाएपछि महिला उद्यमी सहकारी संस्थाले उत्पादनमा अनुदान प्राप्त गरेको छ । सहकारीले मासिक ३० देखि ४० वटासम्म खसी बोका विक्री गर्ने गरेको छ ।

सदस्यहरुले उत्पादन गरेको खसी बोका सहकारी मार्फत बजारमा बिक्रीको प्रवन्ध मिलाइएको छ । प्रति केजी जिउँदो ४ सय ५० मा सहकारीले खसी बोका बिक्री गर्ने गरेको छ । पछिल्लो अवसमा झण्डै ६ हजार ६ सय केजी जिउँदो खसी बोका विक्री गरेको सहकारीले दुध पनि विक्री गरीरहेको छ । दैनिक १ हजार लिटर दुध विक्रीगरेको सहकारीले दुध उत्पादन बढाउनेगरी योजना निर्माण गरेको सहकारी अध्यक्ष कमला कुस्मेलीले जानकारी दिइन् ।

सहकारी मार्फत उत्पादनलाई बजारीकरण गरीरहेको सहकारीमा अहिले १७ वटा महिला समूहहरु आवद्ध भएका छन् । झण्डै २ करोडको कारोबार गर्ने सहकारी गाउँपालिका स्तरीय सहकारी हो ।