Print

महाशिलाको भोक्सिङमा ब्यवसायीक सुन्तला खेती : बार्षिक ५ लाख आम्दानी

१५ चैत, पर्वत । जिल्लाको महाशिला गाउँपालिका गाउँपालिका वडा न १ भोक्सिङका स्थानीयले ब्यवसायीक सुन्तला खेती गरीरहेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै स्थानीयले ब्यवसायीक सुन्तला खेती गरेका हुन् । सुन्तला खेतीबाट उनीहरुले बार्षिक मनग्य नगद आम्दानी गर्दै आइरहेका छन् । गत १० बर्ष देखि सानो क्षेत्रफलमा शुरुवात गरेको सुन्तला खेती अहिले विस्तार गरेर स्थानीय जीवन गुरुङको परिवारले ठूलो मात्रामा खेती गरेको छ ।

गुरुङको परिवारले मात्रै झण्डै ६ सय सुन्तलाका विरुवा लगाएको छ । शुरुवातमा सानो क्षेत्रफलमा ब्यवसाय गरेको गुरुङको परिवारमा अहिले ४ सय ५० बोटबाट सुन्तला उत्पादन हुन शुरु गरेको छ । बाँकी बोट सानो भएका कारण क्रमशः उत्पादन हुने गुरुङले जानकारी दिए । उनले गत बर्ष मात्रै सुन्तलाको विक्रीबाट एक सिजनमा ४ लाख ५० हजार भन्दा बढि आम्दानी गरेका छन् ।

झण्डै ५ लाख आम्दानी गरेका गुरुङको परिवारले सुन्तला काठमाण्डौ लगेर विक्री गरेका थिए । आफै ढुवानी गरेर बजारमा बिक्री गर्दा मूल्य धेरै पर्ने गुरुङ परिवारको भनाई छ । उनीहरुले सुन्तला विक्रीका लागि वस्तीसम्मै कच्चि मोटरवाटो पुगेको छ । उक्त बाटोमा सवारी साधानको प्रयोग गरी सुन्तला बिक्री स्थानीयले गरेका छन् । गुरुङ परिवारले सुन्तला खेतीको शुरुवात गरेपछि अन्य स्थानीयले पनि ब्यवसायीक रुपमा सुन्तला खेती गरेका छन् ।

स्थानीय भुवानसिंह गुरुङले पनि अहिले झण्डै ४ सय सुन्तलाका बोट रोपेका छन् । गुरुङले लगाएका केहि विरुवा उत्पादन शुरु भए पनि केहि विरुवामा उत्पादन हुन बाँकी छ । उत्पादन भएको सुन्तलालाई बजारको भने समस्या नपरेको स्थनीयले बताएका छन् । बाँझो जमिनमा सुन्तला खेती गर्दा जमिनको पनि सदुपयोग हुने र गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने स्थानीयहरुको भनाई छ ।

ब्यवसायिक सुन्तला खेती गरेका कृषकलाइ सहज सडक सञ्जालको ब्यवस्थापन राज्यले गरिदिने हो भने, बजारको पहुँचमा थप सहजता हुने उनीहरुको भनाई छ । जिल्लामा जलजलाको बाँसखर्क र मोदीको देउपुर पछि ठूलो मात्रामा सुन्तला खेती गरेको यो अर्को क्षेत्र हो । भोक्सिङ गाउँ आफैमा आलु गाउँको रुपमा परिचित छ । ठूलो मात्रामा आलु उत्पादन हुने भोक्सिङ अव सुन्तला गाउँ पनि बन्ने भएको छ ।