९ चैत, पर्वत । पर्वत उद्योग बाणिज्य संघको निर्वाचनको मत गणना जारी छ । ७ गते राती १२ बजेदेखि जारी मतगणनामा अहिलेसम्म १ हजार ४४ मतको मात्र गणना गरिएको छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदका उमेदवार गोपी अधिकारीले १५ मतको अग्रता कायम गरेका छन् । अधिकारीले प्रतिद्धन्द्धी शिव शर्मा पौडेललाई १५ मतले पछाडी पारेका हुन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार ४ सय ८० मत पौडेलले ल्याउँदा अधिकारीले ४ सय ९५ मत ल्याएका छन् ।
आधार भन्दा बढि मत गणना भइसक्दाको यो परिणामले अन्तिम फैसला कस्को पक्षमा हुन्छ अनुमान गर्न गाहे भएको छ । कुल २३ पदका लागि भएका निर्वाचनमा ४६ जना चुनावी मैदानमा छन् । अधिकारी र पौडेल प्यानल बनाएर दुई समूह चुनावी मैदानमा होमिएका हुन् । अधिकारीलाई बाम मोर्चा कम्युनिष्ट पाटीहरुको समर्थक छ भने पौडेललाई प्रजातान्त्रिक समूह नेपाली कांग्रेसको समर्थन रहेको छ । प्राप्त परिणामले सदस्यहरुमा दुवै समूहका आधा आधा जसो उमेदवारहरुले अग्रता कायम गरेका छन् । सदस्यहरुमा ५ सय २२ मतका साथ राजकुमार बस्नेत अग्रपंक्तीमा छन् ।
बस्नेत पछि सदस्यहरुमा ठाकुर वि. पौडेल, कमल बहादुर जिस, गणेश श्रेष्ठ, गणेश लामिछाने, रामु शर्मा, कृष्ण शर्मा, प्रदीप तिमिल्सीना लगाएतका सदस्यले अग्रता कायम गरेका छन् । महिला सदस्यहरुमा भने देवी अधिकारीको अग्रता कायम छ । अन्य सदस्यहरु माया अधिकारी अनिता मल्ल र राधा कुमारी शर्मा वीच प्रतिस्पर्धा चलिरहेको छ । अन्तिम मतपरिणाम नआउँदासम्म कुन उमेदवारको विजयी हुन्छ यसै अनुमान गर्न नसिकिने देखिन्छ । कम मतान्तरमा कडा प्रतिस्पर्धा भइरहेका कारण परिणामको सहज आकलन गर्न सकिने अवस्था देखिदैन् । मतपरिणाम सार्वजनिक भए देखि नै अधिकारीको अग्रता भने कायम छ । सदस्यहरुमा दुवै प्यानलका करिब आधा सदस्यहरुले अग्रता कायम गरीरहेका छन् । मतदान प्रक्रियाको मतपत्रमा प्यानल उमेदवारी बनाउँदा बदर मतको संख्या पनि उच्च देखिन्छ ।
मतपरिणाम आउन अझै २ दिन लाग्ने
पर्वत उद्योग बाणिज्य संघमा रहेका झण्डै २३ सय मतदाता मध्ये १९ सय ९३ जनाले मतदान गरेका थिए । मतदानको नजिता आउन भने समय लाग्ने देखिएको छ । एउटा मात्र बुथमा गणना भइरहेका र उमेदवारको संख्या धेरै भएका कारण निकै धिमा गतिमा मतगणना भइरहेको छ । चैत ७ गते राती देखि शुरु भएको मतगणना चैत ९ गते विहानसम्म आइपुग्दा १ सहजा ४४ मतगणना मात्र सकिएको छ ।
कम्युनिष्ट फुटको असर
नीजि ब्यवसायीहरुको निर्वाचनमा राजनैतिक दलको प्रत्यक्ष समर्थन रहेका कारण यो निर्वाचनलाई दलसंग पनि जोडेर हेरिएको छ । दुवै प्यानलमा कम्युनिष्ट र कांग्रेसको समर्थन रहेका कारण यो निर्वाचनको जीत र हार राजनैतिक दलसंग पनि जोडिएको हो । पछिल्लो समय कम्युनिष्ट शक्ति फुटेका कारण त्यो शक्ति कमजोर भएको नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको आकल मतपरिणाममा पनि देखिएको छ । कम्युनिष्टहरुको सदस्यता धेरै रहेको पर्वत उद्योग बाणिज्य संघमा केन्द्रमा देखिएको पाटी फुटको असर मतदानमा देखिएको मतपरिणामले बताउँछ । अध्यक्ष पदमा झिनो मतान्तर हुनु र सदस्यहरुले पनि समान संख्यामा अग्रता लिनुले मतदानमा कम्युनिष्टहरुको एकता नदेखिएको बताईन्छ ।