६ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिको आफ्नो चौथो स्थापना दिवस मनाएको छ । गाउँपालिका स्थापना भएको ४ बर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरीले गाउँपालिका भित्र भएका विकास निर्माण कामहरुको श्रेय सवै जनप्रतिनिधिले लिनुपर्ने धारणा राखे । उनले निर्वाचनमा गरेका प्रतिबद्धताहरु जनप्रतिनिधिले पुरा गरे नगरेको हेरेर उनीहरुको मूल्यांकन हुनुपर्न बताए ।
आफूले पनि निर्वाचनमा बोलेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्द गईरहेको भन्दै बाँकी काम बाँकी समयमा पुरा हुने प्रतिबद्धता ब्यक्त गरे । उनले गाउँको विकासका लागि जनताको पूर्ण सहभागीता रहुनपर्ने समेत धारणा राखे । स्थानीय सरकार बनेपछि नजिकाके सरकारको अनुभूति गर्दै जनताले आधारभूत सेवाहरु स्थानीय सरकारबाट लिन पाउने कुरा संघीयताको राम्रो पक्ष भएको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल उपाध्यक्ष सेती महत, नेकपा एमालेका तेजबहादुर क्षेत्री, नेपाली कांग्रेसका जीवन प्रसाई र माओवादी केन्द्रका मनबहादुर केसी तथा वडा अध्यक्ष विकास तिमिल्सीले मन्तब्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा कर्मचारीहरुलाई सम्मान तथा गाउँपालिकाबाट सरुवा तथा अवकास प्राप्त कर्मचारीलाई विदाई कार्यक्रमको समेत आयोजना गरिएको थियो ।




