२० माघ, पर्वत । कोरोना संक्रमणका कारण बन्द भएका पर्वत जिल्लाका होम स्टेहरु सञ्चलनमा आएका छन् । गत चैत महिना देखि सं क्रमणका कारण सेवाहरु पूर्ण रुपमा बन्द थिए । संक्रमणका कारण बन्द भएका होम स्टेहरुको सेवा माघ महिना देखि सञ्चालनमा आएका हुन् । पर्वत जिल्लामा मुख्य गरी मोदी गाउँपालिकाको चित्रे, भुकदेउराली, देउराली लगाएतका स्थानमा होम स्टे सेवाहरु सञ्चालनमा छन् । आन्तरीक पर्यटकहरुका कारण खचाखच हुने होम स्टे झण्डै १० महिना पछि सञ्चालनमा आएका हुन् ।
चित्रे सामुदायिक होम स्टेकी अध्यक्ष शुशिला गुरुङ भन्छिन–‘कोरोना नभएको भए यो अविधिमा धेरै पर्यटकहरु आउने थिए’ संक्रमणका कारण बन्द भएका सवै घरवासका सेवाहरु सुचारु भएको उनको भनाई छ । संक्रमणलाई ध्यान दिदै अझै पनि सुरक्षाका उपायहरु भने अपनाइएको उनले जानकारी दिइन् ।
पर्वतको मोदीमा बाहेक फलेवासका थापाठाना, जलजलाको लेकफाँटमा पनि होम स्टे सेवा सञ्चालनमा छन् । उता, पर्वतको विहादीमा बहाकी, त्रिवेणी र महाशिलाको लुंखु देउरालीमा पनि होम स्टे सेवा सञ्चालनमा छन् । जिल्लाका सवै जसो होम स्टेहरु सञ्चालनमा आएका छन् । योसंगै आन्तरीक पर्यटकहरु होम स्टेमा बास बस्नका लागि भित्रन शुरु गरेका छन् ।




