१९ माघ, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले रु ५ लाख बराबरको पत्रकार सहयोग कोष स्थापना गर्ने निर्णय गरेको छ । विपद्मा परेका, आर्थिक समस्या परेका र जटिल रोगबाट पिडित पत्रकारहरुलाई सहयोग पुराउने उद्देश्यले ५ लाख बराबरको सहयोग कोष स्थापना गर्ने निर्णय गरेको हो । महासंघको एघारौं साधारण सभामा महासंघका सचिव गणेश गिरीले गर्नुभएको प्रस्ताव सर्वसहमत रुपमा पारित गरिएको शाखाका अध्यक्ष छविलाल तिवारीले जानकारी दिए ।
एघारौ साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव गिरीले यस्तो सहयोग कोषले महासंघको तर्फबाट पत्रकारहरुलाई आर्थिक सहयोग पुराउन मद्दत मिल्ने विश्वास ब्यक्त गरेका थिए । महासंघले विभिन्न निकाय तथा ब्यक्तिहरुको सहयोगमा ५ लाख बराबरको सहयोग कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषलाई वैकमा मुद्धति खातामा राखि त्यसबाट प्राप्त भएको ब्याजले पत्रकारलाई सहयोग गर्ने उद्देश्य राखिएको शाखा सचिव गिरीले जानकारी दिए ।
शाखाले स्वर्गिय पत्रकार महेन्द्र केसी प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेको छ । शाखाको एघारौं साधारण सभामा शोक प्रस्ताव पास गर्दै केसीले पत्रकारिता क्षेत्रमा पुराएको योगदानको उच्च कदर समेत गरेको छ ।
महासंघको एघारौं साधारण सभा पर्वत जिल्लाको पर्यटकीय गाउँ चित्रेमा सम्पन्न भएको थियो ।




