१८ माघ, पर्वत । कोभिडका कारण बन्द रहेका ग्रामीण क्षेत्रका होम स्टेहरु खुल्न थालेका छन् । लामो समय बन्द भएका होम स्टेहरु खोल्न थालेपछि त्यहाँ जाने आन्तरीक पर्यटकहरुको संख्यामा बृद्धि हुन थालेको छ । पर्वत जिल्लामा रहेका होम स्टेहरु मध्ये उत्कृष्ट होम स्टे भएको ठाएँ हो ‘चित्रे’ । चित्रे ग्रामीण होम स्टे सञ्चालन भएको एक दशक पुरा भइसकेको छ । एक दशकको अवधिमा यहाँ पर्यटककहरुको घुईचो लाग्ने गरेका छन् । ग्रामीण परिवेश, ग्रामीण समुदाय, जनजातिको अलग्गै संस्कृति चित्रेका विशेषता हुन् । यहि स्थानको प्रवद्र्धन गर्न पर्वतक पत्रकारको जम्बो टोली दुई दिने बसाईमा चित्रे पुगेर फर्केको छ ।
पत्रकार महासंघको साधारण सभाको अवसर पारेर महासंघका ४५ जना सदस्यको टोली पर्यटकी गाउँ चित्रेमा पुगेको हो । ग्रामीण होम स्टेको अनुभव गरर्दै यसको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग पुगोस भनेर महासंघको साधारण सभा पनि सोहि स्थानमा आयोजना गरिएको महासंघका अध्यक्ष छविलाल तिवारी बताउँछन् । माघ १६ र १७ गतेसम्म साधारण सभा तथा छैटौ अधिवेशनको उद्घाटन शत्र होम स्टेमा रहेको सामुदायिक सभागृहमा सञ्चालन गरिएको थियो । होम स्टेको आतिथ्यता ग्रहण गरेका पत्रकारहरुले ग्रामीण पर्यटन प्रवद्र्धनमा चित्रे गाउँले महत्वपूर्ण भूमिका खेलेको बताएकाछन् ।
महासंघका संस्थापक अध्यक्ष भोलानाथ शर्माले आन्तरीक पर्यटनलाई केन्द्रित गरी सञ्चालन गरिएको होम स्टे सेवा निकै प्रभावकारी र ब्यवस्थित रहेको टिप्पणी गरे । पर्यटन प्रवद्र्धनका लागि होम स्टे सेवा सञ्चालन गरीरहेका स्थानीयले होम स्टेलाई थप ब्यवस्थित बनाउन नयाँ घरहरुको पनि निर्माण गरीरहेका छन् । खानाका अलग्गै परिकार तथा आवासीय सुविधालाई अझै ब्यवस्थित गर्न आफूहरु लागि परेको होम स्टे सञ्चालक समितिक समितिकी अध्यक्ष शुशिला गुरुङले बताईन् ।
कोभिड अघि गाउँमा ठूलो संख्यामा आन्तरीक पर्यटकहरु आउने गरेको स्मरण गर्दै कोभिड संक्रमणको महामारीका कारण झण्डै एक बर्ष होम स्टे सेवा बन्द भएको गुरुङको भनाई छ । अहिले केहि साता अघिबाट मात्र होम स्टे सेवाको शुभारम्भ गरिएको उनले बताई । सेवा शुभारम्भ भएसंगै भने पर्यटकहरु सेवा लिनका लागि आउन थालेको गुरुङले जानकारी दिईन् । होम स्टेमा आवासका लागि झण्डै ५० जनाको क्षमता रहेको छ ।
होम स्टेमा पुगेको पत्रकारको टोलीलाई होम स्टे सञ्चालकले माला र टिका लगाएर स्वागत गरेका थिए । रातको समयमा स्थानीय संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । लोक्कल परिकारको खानाको ब्यवस्थापन तथा स्तरीय आवासको प्रवन्ध स्थानीय होम स्टे सञ्चालकहरुले गरेका थिए ।




