Print

पर्वतमा क्यान्सर पिडित महिलाले पनि जितिन् कोरोना

२० कार्तिक पर्वत । जिल्लामा कोरोना संक्रमण पुष्टि भएकी एक जना क्यान्सर पिडित महिलाले पनि कोरोना संक्रमण जितेकी छिन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नव १ घर भएकी ६६ बर्षकी महिलाले पनि कोरोना संक्रमणबाट मुक्त भएको स्वाथ्य कार्यालय पर्वतले जनाएको छ । कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको किमो चढाईरहेकी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुराबाट क्यान्सरको उपचार गराएर पर्वत आएकी ति महिला क्वारेन्टाइनमा बसिरहेको बेलामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्यान्सर जस्तो जटिल रोग लागेको उनलाई कोरोनाबाट मुक्त ग गराउन सफल भएकोका स्वास्थ्य कार्यालयले खुशी ब्यक्त गरेको छ ।

कार्यालयका सुचना अधिकारी प्रविन भण्डारीका अनुसार उनलाई कोरोना संक्रमणबाट मुक्त बनाएर घरमा पठाइएको छ । संक्रमीत महिलालाई कोरोनाका कारण थप कुनै जटिलता नआएको भण्डारीले जानकारी दिए । जिल्लामा हालसम्म जटिल अवस्थामा कोरोना संक्रमण पुष्टि भएको मध्ये उनी पनि हुन् । संक्रमणकै कारण अर्का एक जना पुरुष पनि समस्यामा परेको कार्यालयको भनाइ छ । दुर्घटनामा घाइते भएका पैयूका एक पुरुषको कोरोना रिर्पोट पोजेटिभ आएका कारण समस्या भइरहेको उनले जानकारी दिए ।

दुर्घटनाका कारण अप्रेसन गर्नुपर्ने विरामी कोरोना रिर्पोट पोजेटिभ आउँदा अहिले पनि आइसोलेनमा राख्नु परेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोनाका कारण जिल्ला मै गम्भिर भएर उपचारका लागि कुनै पनि विरामीलाई अहिलेसम्म राख्नु परेको छैन । चिसो मौसम समेत शुरु भएका कारण अव भने लक्षण सहित गम्भिर प्रकृतिका कोरोना संक्रमीतहरु समेत बढ्ने सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।