१७ कातिर्क, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पनि लक डाउनको घोषणा गरिएको छ । स्थानीय समुदायका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुबाट संक्रमण थप फैलनसक्ने भन्दै गाउँपालिकाको संकट ब्यवस्थापन केन्द्रले ५ दिनका लागि लक डाउनको घोषणा गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार अगामी कार्तिक १७ गते राती १२ बजे पछि २२ गते राती १२ बजेसम्म लक डाउनको निर्णय गरेको हो ।
लक डाउन अन्तर्गत गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, शैक्षिक संघ संस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारि बाट प्रदान गरिने सेवाहरु र अत्यावश्यक सेवा र वस्तु बाहेकका पसलहरु हुने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए । मुख्य गरी गाउँपालिकाको प्रमुख ब्यापारीक केन्द्रहरु बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भाद्र्खोला र अम्बोट क्षेत्रमा यो निषधाज्ञा लागू हुनेछन ।
यसैगरी अत्यावश्यक सेवा बाहेक मोदी गाउँपालिकाका बिभिन्न शाखा सडकहरुबाट संचालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको क्षेत्रीले जानकारी दिए । मध्य पहाडी लोकमार्गमा भने सवारी साधन सञ्चालन हुनेछन् ।
गाउँपालिकाले अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर ननिस्कने तथा निर्णय कार्यान्वयन गराउन सबै गाउँपालिकाबासिहरुमा अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले अत्यावश्यक काममा बाहेक उल्लेखित अवधिमा छिमेकी स्थानीय तह एबम जिल्लाहरुबाट मोदी गाउँपालिका प्रवेश नगर्न समेत अनुरोध गरेको छ ।




