Print

कोरोना संक्रमीतको उपचार गर्न जलजला गाउँपालिकाले १० हजार सहयोग गर्ने

१७ कार्तिक, पर्वत । संघीय सरकारले कोरोना संक्रमीतको उपचारका लागि शुल्क लाग्ने निर्णय गरेपछि पर्वतको जलजला गाउँपालिकाले संक्रमीतको उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले पालिकाभित्रका गम्भीर बिरामीलाई अस्पतालसम्म पुर्याउने र उपचारका लागि न्यूनतम १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक पिसिआर’ अभियानबाट पोजेटिभ रिपोर्ट आएका तर स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आईसोलेशनमा बस्न आग्रह गर्ने र गम्भीर अवस्थाका संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्ने र उपचारका लागि न्यूनतम १० हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको मल्लको भनाई छ ।

कोरोना संक्रमणलाई न्यूनिकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरीरहेको जलजला गाउँपालिकाले यस अघि पनि कोरोना संक्रमणका कारण पिडित बनेकाहरुलाई राहत सामाग्री उपलब्ध गराएको थियो ।

यसैगरी कोरोना न्यूनिकरण र रोकथाम गर्नका लागि पालिकामा क्वारेन्टाइन र आइसोलेसन कक्षको समेत निर्माण कार्य गरेको छ । कोरोना अस्पताल निर्माणको प्रक्रियामा रहेको अध्यक्ष मल्लले जानकारी दिए । कोरोना न्यूनिकरण र रोकथाम गर्न सवैको सहयोग र साथ रहनुपर्ने भन्दै अध्यक्ष मल्लले यो महामारीलाई सवै मिलेर सामना गर्नुपर्ने धारणा ब्यक्त गरे । एक घर एक पिसिआर अभियानलाई मजाकको विषय नबनाई सवैले यस अभियानमा सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् । गाउँपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सम्बन्धि अधिकारलाई स्थापीत गराउनका लागि जटिल समस्या आएमा हालका लागि १० हजार नगद सहयोग गर्ने निर्णय गरी जनता प्रतिको उत्तरदायित्व वहन गरेको उनले बताए ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले पालिका भित्रका सवै वडाहरुमा पुगेर समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । गाउँपालिका अध्यक्ष संक्रमति भएपछि गरिएको परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको थियो । संख्या बढ्न थालेपछि पालिका भित्र संक्रमणको थप अवस्थाको पहिचान गर्नका लागि ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

सांसदहरुले दशैं भत्ता बुझेपछि चर्को आलोचना भएको बेलामा पर्वत जिल्लाको जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । कोरोना संक्रमणको बेलामा राज्यलाई आर्थिक भार परेको भन्दै जलजला गाउँपालिकाको कार्य पालिकाको बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।