२६ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि कुश्मा बजारमा प्रतिबन्धहरु लगाइएको छ । संक्रमीत पुरुष कुश्मा नगरपालिका वडा न ६ मा बस्दै आएका थिए ।
६८ बर्षिया पुरुषमा संक्रमण पुष्टि भएसंगै कुश्मा बजार केहि क्षेत्रहरुमा प्रतिबन्ध लगाइएको हो । संक्रमीत पुरुष राजनैतिक गतिविधिहरुमा समेत सहभागी हुने गरेकाले संक्रमण समुदायमा फैलिएको आंशका सहित बजार क्षेत्रमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले स्पष्ट पारे ।
कुश्मा नगरपालिका वडा न ४, ५, ६ र ७ भित्र सवारी आगमनमा प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवा अन्तर्गतका ब्यापारीक प्रतिष्ठानहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको रेग्मीले जानकारी दिए । सामाजिक गतिविधिहरुमा सक्रिय ब्यक्तिमा कोरोना पुष्टि भएका कारण उनलाई सोहि स्थानबाट संक्रमण सरेको आशंका गरिएको छ । उनले स्वच्छिक रुपमा पिसिआर परिक्षणका लागि स्वाब दिएका थिए । पर्वतको कुश्मामा पछिल्लो समय राजनैतिक गतिविधिहरु बढिरहेको थियो ।
सोहि बेलामा राजनैतिक दलका जिल्ला सदस्यलाई संक्रमण देखिँदा सम्पर्कमा आएका ब्यक्तिहरुको थप खोजी र पहिचानमा कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा जुटेको छ । आज मात्रै २ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये अर्का एक जना २३ बर्षका पुरुष भने क्वारेन्टाइनमा बसीरहेका युवा हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतले एक सुचना जारी गर्दै नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् ।
यसैगरी प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार वैंक तथा वित्तिय संस्थाहरु पनि भोलीबाट १ हप्ताका लागि बन्द हुने भएका छन् । यसैगरी अत्यावश्यक सेवा अन्तर्गतका खाद्यन्न, फलफुल, दुग्ध जन्य र स्वास्थ्य सेवा बाहेकका ब्यापारीक प्रतिष्ठान पनि बन्द हुने प्रजिअ रेग्मीले जानकारी दिएका छन् ।




