१९ भदौ, पर्वत । जिल्लामा यस अघिबाट शुरु गरिएको पुलिङ क्वारेन्टाइन विधि सफलसिद्ध बनेको देखिन्छ । पछिल्लो समय जिल्लाका ७ वटै स्थानीय तहमा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको देखिएपछि पुलिङ क्वारेन्टाइन विधि सफल भएको देखिएको हो ।
विदेशबाट आउनेहरुलाई सिधै समुदायमा नपठाई जिल्लाको क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसरी राखिएको क्वारेन्टाइनलाई पर्वत जिल्लाको कोरोना नियन्त्रण रोकथाम जिल्ला समितिले पुलिङ क्वारेन्टाइनको नाम दिएको छ । पुलिङ क्वारेन्टाइनमा बसेकाहरुको रिर्पोट नेगेटिभ आएपछि पनि उनीहरुलाई पुनः स्थानीय पालिकाको क्वारेन्टाइनमा राख्ने विधि अवलम्बन गरिन्छ । यसो गर्दा परिक्षणमा नेगेटिभ देखिएकाहरुमा पनि संक्रमणको जोखिम उच्च हुँदा त्यो जोखिम समुदायमा फैलन पाउदैँन् । अहिले पछिल्लो समय समुदायमा संक्रमण नदेखिनुलाई क्वारेन्टाइन विधि सफल भएको मान्न सकिन्छ ।
भारत र अन्य मुलुकबाट आउने सवैजना क्वारेन्टाइनमा बस्न अनिवार्य गरिँदा राज्यको खर्च बढे पनि समुदाय भने सुरक्षित रहेको देखिएको छ । पछिल्लो पल्छ फलेवास नगरपालिकामा पनि समुदायमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । फलेवास नगरपालिकाबाट १ सय १५ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा पठाईएकोमा सवैको रिपोर्ट नेगेटीभ आएको हो । शुक्रवार दिउँसो १ सय १५ जनाकै रिपोर्ट नेगेटीभ आएको सिसिएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।
फलेवास नगरपालिकाको थापाठाना र खानीगाउँमा गरी विभिन्न सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, वित्तिय संस्था, शिक्षक, सवारी चालक, होटेल तथा पसल संचालक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी पत्रकार तथा प्रहरी गरी १ सय १५ जनाको स्वाब संकलन गरिएको हो । सवैको रिपोर्ट नेगेटिभ आएपछि हालसम्मलाई फलेवास नगरपालिका सुरक्षित रहेको पाईएको नगरप्रमुख पदमपाणी शर्माले बताएका छन् ।
यस अघि पर्वतको पैंयु, विहादी, जजलजला, महाशीला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पनि समुदायमा कोरोना छ कि छैन भनेर परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।
पर्वतमा हालसम्म समुदायमा कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म १ सय ९ जना संक्रमित भेटिएकोमा अधिकांस भारतवाट आएका रहेका छन् भने केहि स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको थियो । पर्वतको अस्थायी कोरोना अस्पतालमा हाल जम्मा ६ जना संक्रमित रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।




