५ भदौ, पर्वत । देश भरका अधिकांश जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण पुष्टि भइरहेको बेलामा पर्वतमा भने संक्रमण पुष्टि हुन सकिरहेको छैन् । पछिल्लो तथ्यांक अनुसार समुदायबाट संकलन गरिएका सहित १ सय ८६ जनाको थप रिर्पोट नेगेटिभ आएकाले समुदायमा संक्रमण भएको पुष्टि नभएको हो । समुदाय स्तरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको स्वाब संकलन गर्दा पनि उनीहरुमा संक्रमण पुष्टि भएको छैन् ।
पछिल्लो तथ्यांक अनुसार १ सय ८६ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसले समुदायमा अहिले संक्रमण नभएको देखाउँछ । देशका अन्य जिल्लाहरुमा समुदायमा संक्रमण नफैलिएको बेलामा पर्वतका ६ स्वास्थ्यकर्मी सहितमा यस अघि संक्रमण फैलिएको थियो । यसरी फैलिएको संक्रमण तत्काल नियन्त्रणमा आएको थियो । स्वास्थ्यकर्मीसंगै स्थानीय ब्यक्ति र खाजाघर सञ्चालकलाई समेत यस अघि कोरोना संक्रमण पुष्टि हुँदा त्यसले समुदायमा संक्रमण ठूलो मात्रा फैलने अनुमान गरिएको थियो ।
दुई हप्तामै नियन्त्रणमा आएको त्यो बेलाको संक्रमण पछि अहिले पुनः समुदायमा संक्रमण पुष्टि हुन सकेको छैन् । छिमेकी जिल्ला बागलुङ, कास्की र स्याङजामा ठूलो संख्यामा समुदायमा संक्रमीतहरु भेटिएका छन् । यो बेलामा पर्वतमा भने संक्रमण पुष्टि हुन सकेको छैन । मुख्य गरी सदरमुकाम कुश्मा बजार, जलजला गाउँपालिका र मोदी गाउँपालिकाहरुमा लिइएको स्याम्पलमा कोरोना पुष्टि भएको छैन ।
आइसोलेसनमा ४ जना मात्रै
समुदायमा संक्रमण नभेटिएको बेलामा भारत र अन्य मुलुकबाट आउनेमा देखिएको संक्रमण पनि घट्दो दरमा छ । विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा देखिएको संक्रमण घटेर ४ जनामा सिमित भएको छ । हिजो मात्रै ७ जना रहेको आइसोलेसनमा थप ३ जनाको रिर्पोट नेगेटिभ आए पछि अव आइसोलेसनमा ४ जना मात्रै रहेका छन् ।




