६ भदौ, पर्वत । जिल्लामा समुदायमा कोरोना संक्रमण नदेखिएपछि अन्य जिल्लाबाट प्रबेश गर्ने नाकामा कडाई गर्न थालिएको छ। पर्वत सहित साविकको धौलागिरी अञ्चल प्रबेश गर्ने मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर चेकजाँचलाई कडा बनाइएको हो ।
पर्वतसँग सीधा सवारी आवतजावत हुने जिल्लाबाट प्रबेश गर्ने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई गेटमै रोक्ने गरि चेकपोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलेबताए । गेटमा चौबिसै घण्टा प्रहरीले सवारी साधन र आवतजावत चेक गर्नेछ । अत्यावश्यक बाहेक सबै सवारी साधन र यात्रुलाई फिर्ता पठाउने तयारी छ । ‘पर्वत जिल्लामा गरिएका सावधानी र सतर्कताका कारण अहिलेसम्मको अवस्था नियन्त्रित रहेको पाइएको छ’ उनले भने ‘अब बढी संवेदनशील बन्नुपर्ने भएकाले कडाई गरिएको हो’
पर्वतमा भारत र तेस्रो मुलुकबाट आउने मात्रै होइन छिमेकी जिल्लाबाट आउने मानिसबाट पनि संक्रमण फैलिन सक्ने उच्च जोखिम छ । जिल्ला प्रशासन कार्यालयले जुनसुकै बेला कफ्र्यु समेत लगाउनु पर्ने आउन सक्ने चेतावनी पनि दिएको छ। अनिवार्य रुपमा मास्क लगाउने, दुई मिटरको दुरी कायम राख्ने, भेला जम्मा हुने जस्ता स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न पनि आग्रह गरेको छ ।
जिल्लामा कोरोनाको संक्रमण समुदायमा गए नगएको पत्ता लगाउन समुदायमा पुगेर फरक फरक पेसा व्यवसायमा संलग्न रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। जलजला गाउँपालिकाबाट पठाइएका ६८ वटा नमुना, कुस्मा नगरपालिकामा लिइएका १ सय १७ र मोदी गाउँबाट पठाईका ५८ सहित अन्य क्षेत्रबाट पठाइएको २ सय ९६ वटा स्वाब परिक्षण गरिएको थियो ।
विभिन्न कार्यक्रममा आउजाउ गर्ने जनप्रतिनिधि, कर्मचारी, भिडभाड हुने किराना पसलका सञ्चालक, ट्याक्सी चालक, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, वर्कसपमा कार्यरत मजदुर, होटेल सञ्चालक तथा त्यहाँ काम गर्ने कर्मचारी, पेट्रोल पम्पमा काम गर्ने कर्मचारी, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, हार्डवेयर पसलका सञ्चालक र सर्वसाधारण गरी उच्च जोखिममा रहेकाहरुको प्राथमिकीकरण गरी स्वाब संकलन गरिएको थियो।




