Print

कोरोना विरुद्धको अभियान : काँग्रेस नेतृ आरजु देउबाको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण

२४ असार, पर्वत । नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेकी छिन ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले वुधवार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समितिलाई हस्तान्तरण गरेका हुन् ।

सिसिएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पीपीई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार पिस नर्मल मास्क, र ४० पिस एम ९५ माक्स रहेको थियो । उक्त स्वास्थ्य सामग्री झण्डै दुईलाख बराबरको रहेको वताइएको छ ।

सहयोग हस्तान्तरण पछि गुरुङले यो सामग्री सहयोग गर्ने आरजु राणा देउवा र सामग्री ल्याउन पहल गर्ने यामबहादुर मल्लको प्रशंसा गरेका थिए।

उक्त स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि वितरण गर्ने कार्यक्रम रहेको जलजला गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । मल्लले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघिनै सहयोग गरीसकेका छन् ।