Print

दुर्लुङ पहिरो : छोराछोरी र आमाबुवाको क्रियाबाट उम्मेका ओमबहादुरका आँखा ओभाएका छैनन्

१४ असार पर्वत । ओमबहादुर थापाको गाउँमै सानो किरानापसल छ । सँधाझै शनिबार पनि उनी श्रीमती सँगै पसलमा व्यस्त थिए । लकडाउनमा उनको पसल चलेकै थियो । बिहान आमाबुबा,छोरोछोरी सँगै खाना खाएका थापाले राति अनुहार समेत देख्न पाएनन् । एक्कासी मन भत्कियो । रात भर आकाश रोएझैँ थापाको मन पनि रोइरह्यो । पहिरोमा पुरिएका बुबाआमाको जीवितै उद्दार होला भन्ने आश एका तर्फ थियो भने सन्तान गुमाउने पीडा अर्कोतर्फ ।

नभन्दै उनले आमा बुबा सँगै छोराछोरी, बहिनी र भान्जा गुमाउनु पर्यो ।ओमबहादुरका बुबा तुलबहादुर थापा भारतीय सेनामा आबद्ध थिए । भारतीय सेनाबाट अवकाश तुलबहादुर पछिल्लो समय गाउँमै खेती किसानी गर्थे । काम गरे मात्र माम पाइन्छ भन्ने स्वभावका थिए, तुलबहादुर ।

‘कर्म प्रति लगनशील भए मिहिनतको प्रतिफल राम्र्रै हुन्छ भनेर सधैँ बाबाले सिकाएको सम्झन्छु’, ओमबहादुरले भने, ‘दुःखदेखि कहिल्यै पछि नहटने डटेर सामाना गर्ने हिम्मत बुबामा थियो ।’

आमा मीनकुमारी थापा पनि गाउँकै खेतबारीमा व्यस्त हुन्थिन् । ओमबहादुरले सम्झिँदै भने, ‘आमाले पकाएको खाना असाध्यै मिठो लाग्थ्यो मलाई । मेरा छोरा छोरीलाई एकदमै माया गर्नुहुन्थ्यो । छोराछोरी पनि हजुरआमा भनेपछि भुतुक्कै हुन्थे । जसोतसो परिवारमा दिनचर्या राम्रै चल्दै थियो । एक्कासी कहाँबाट दैव लाग्यो । थाहा भएन ।’

ओमबहादुरका १३ वर्षीय छोरा सम्राट थापा र ८ वर्षीय छोरी विविशा थापाको स्वभाव असल थियो । ‘छोराछोरीले हामीलाई दुःख त्यति धेरै दिएनन् । उनीहरूलाई हजुरआमा भएपछि पुग्थ्यो । पढाइ समेत राम्रै थियो । छोरा सम्राट हजुरबुबा जस्तै आर्मी बन्न चाहन्थ्यो । बहिनीलाई असाध्यै माया गथ्र्यो । दुई दाजु बहिनी एकअर्काको साथी जस्तै थिए । दुई सन्तानको विषयमा मेरो र श्रीमतीको सपना ठूलै थियो । तर सबै सपना टुटेर गए’, ओमबहादुर एकैछिन भक्कानिए ।उनका गला अवरुद्ध भए । फेरि सम्हालिँदै उनी हामीसँग कुरा गर्न थाले ।

छोरा हुर्किएपछि सुख सँग पाल्छ भन्ने आश रहेछ उनमा । तर , उनको आशा निराशामा बद्लियो । उनलाई अझै सपना जस्तै लाग्छ रे ! हुन त बेलाबेला सपनामा पनि छोराछोरी देखि रहन्छन् रे उनी ।

‘राति कहिले काहीँ बाबा भनेर छोराछोरीले पुकारेको आवाजकानमा परेजस्तो हुन्छ । तर विडम्बना आँखा अगाडि उनीहरूलाई देख्न पाउँदिनँ’, ओमबहादुर फेरि भक्कानिन्छन् ।

कलिला छोराछोरीको शवदाह गर्दा ओमबहादुरको मन नरोएको पनि होइन । तर प्राकृतिक विपत्तिको अघि कस्को के लाग्छ र ! सबै देखेर पनि नदेखे जस्तो गर्नुपर्यो । आखिर जीवन अगाडि बढाउनु छ । श्रीमतीलाई सम्हाल्न गाह्रो परिरहेको ओमबहादुर बताउँछन् । भन्छन्, ‘श्रीमतीलाई कसरी सम्हालूँ । उनी रुँदा रुन मन लाग्छ । हाँस पनि कसरी भन्नू ?आमाको पीडालाई बुझ्छु । त्यस पछि दुःखलाई आँशुले पखाल्न दिन्छु । पत्यारनै लागेको छैन छोराछोरी गुमायौँ भन्दा ।’

परिवारको माया के हुन्छ कोही आफूभन्दा धेरै टाढा भएपछि मात्रै थाहा हुँदो रहेछ, यो अनुभव ओमबहादुर गर्दै छन् परिवार सम्झेर एकछिन मै रुन्छन्, एकछिनमा भविष्य सम्झन्छन्, छोरा–छोरी बा—आमा विनाको जिन्दगी कसरी चलाउने ? फेरि मन अमिलो बन्छ रुन खोज्दै सम्हालिन्छन् । कति रुनू ? रुँदा–रुँदा आँशु सकिए होलान् सायद रोएर पनि के गर्नू ?आखिर बाँचेकाले त जीवन चलाउनुछ ।

ओमबहादुरकी बहिनी दुर्गा थापा लकडाउनका समयमा माइती घरमा थिइन् । छोरा विवेक थापाको पढाइ चलेको थिएन । विस्तारै लकडाउन खुकुलो होला र घरमा फर्कौँला भन्ने थियो । तर अहिले उनीहरू समेत कहिल्यै नफर्किने गरी धेरै टाढा पुगिसकेका छन् ।

१३ दिने क्रियाबाट उनी उम्मेका छन् । आर्थिक सहयोग गर्नेको संख्या दिनहुँ जसो छ । पैसा हातमा परेर के गर्नु । आफ्नो भन्नेहरु सवै गुमाए उनले । केहि थान पैसा र केहि सहयोग मिलेको छ उनलाई । जव पैसा समाउँछन् । गहभरी आँशु पार्छन् । केहि सामान बुझन भक्कानीन खोज्छन् । समाजका सामु आँशु नझारु भन्छन् भक्कानीन मन लाग्छ । सहयोग दिन आउँदा सवै साथमा भएको आभाष हुन्छ उनलाई । अव बाँकी दुनियाँ हेरेर चित्त बुझाउनु सिवाय केही छैन । –सन्तोष बस्यालको सहयोगमा