Print

स्वास्थ्यकर्मीमा संक्रमण : ८१ जनाको स्वाब संकलन, अस्पताल परिसरमा हिडँडुल गर्न कडाई

५ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीतको उपचारमा खटिएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा नै संक्रमण पुष्टि भए पछि पर्वत अस्पतालमा उच्च सुरक्षा ब्यवस्था मिलाइएको छ । अस्पताल परिसरमा विना काममा आगमन गर्न बन्द गरिएको छ । अस्पताल परिसर वरीपरी पनि सुरक्षा ब्यवस्था कडा बनाइएको छ । अस्पताल परिसरका पसलहरु बन्द गरिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ८१ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको छ । कोरोना अस्थायी अस्पतालको डियुटी गरेर ७ दिनको क्वारेन्टाइनको बसाई पछि स्वास्थ्यकर्मीहरु नियमित काममा फर्केका थिए । उनीहरुमा शुक्रबार संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका उनीहरुको उपचार कहाँ राखेर गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा वैठक बसिरहेको छ ।

अहिले जिल्लामा २९ जना संक्रमीतको उपचार भइरहेको छ । १ जनाको भने पोखरामा उपचार भइरहेको छ । संक्रमीत स्वास्थ्यकर्मीहरुमा २ जना विशेषज्ञ डाक्टर छन् । त्यसैले १ जना नर्स, १ जना ल्याव असिस्टेण्ड र १ जना सहयोगी छन् । उनीहरु अहिले पर्वत अस्पतालमा रहेका छन् । स्वास्थ्यकर्मीहरु अन्य विरामीको समेत सम्पर्कमा रहेका कारण ट्रेसिङको काम शुरु गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

कार्यालयले पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तथा दोस्रो चरणमा अस्पतालमा सेवा लिएका विरामी तथा सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुको पहिचान गरी उनीहरुको पनि कोरोना परिक्षण गर्ने कार्य अघि बढेको छ ।