४ असार, पर्वत । जिल्लाका ८ जना कोरोना संक्रमीत विहिबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएको १४ दिन पछि उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो । रिर्पोट नेगेटिभ देखिएसंगै उनीहरु कोरोना अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमै पुगेर फलेवास नगरप्रमुख पदमपाणी शर्माले उनीहरुको मनोबल थप बढाएका छन् ।
अस्पतालमा प्रमुख जिल्ला अधिकारी शुम्भु रेग्मी, पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटा समेत उपस्थित थिए । उनीहरुलाई नेगेटिभ देखिएको प्रमाणपत्र र डिस्चार्ज पत्र प्रदान गर्दै विदाई गरिएको छ । विदाई भएका उनीहरुले कोरोनाको कुनै विशेष औषधि आफूहरुले सेवन नगरेको बताए ।
मेडिकल औषधि कोरोनाको बनीसकेको छैन । उनीहरु मध्येका एक जना सेतु सुवेदी भन्छन – ‘कोरोना लागेर मरिन्न, आयुर्बेदिक औषधी र तातोपानी खाएरै हामीले जित्न सक्यौ।’ उनले कोरोना देखियो भने मनोवल कमजोर नबनाउने र नियमित तातोपानी, अदुवा, लसुन प्रयोग गर्दा सजिलै कोरोनाबाट मुक्त हुन सकिने सुझाब पनि दिए। क्वारेन्टाईन र आइसोलेसन अस्पतालमा रहँदा आफुँहरुलाई कुनै समस्या नभएको तथा चिकित्सकबाट नियमित सेवा पाएको पनि उनले बताए ।
रोग लागेपछि नआत्तिकन घरेलु औषधि प्रयोग गर्ने र तातोपानी खानुपर्ने उनीहरुको सुझाब छ । संक्रमण पुष्टि भए पनि कुनै पनि लक्षण नदेखिएका कारण उपचारमा कठिन नभएको डा. शिशिर देवकोटा बताउँछन् । ५ जना चिकित्सवकको टोलीले निरन्तर निगरानी गरीरहेको बताउँदै उनले कुनै विशेष अवस्था आएमा संक्रमीहरुको थप उपचार गरिने बताए ।
दुई विशेषज्ञ डाक्टर सहित ५ जनाको समूहले २४ सै घण्टा निगरानी गरेर प्रत्येक दिनको स्वास्थ्यको अवस्था बुझने गरिएको समेत डा. देवकोटा बताउँछन् । संक्रमीतहरुमा रुघा, खोकी र ज्वरोका सामान्य पनि लक्षण नभएका कारण उपचारमा भने सहज भएको उनको भनाई छ ।
कोरोना जित्नेहरुमा फलेबास नगरपालिका १० कुर्घाका २० र ४० बर्षका पुरुष रहेका छन । यसैगरी महाशिला ३ का २१,१४ र २१ बर्षका पुरुषले पनि कोरोनालाई जित्न सफल भएका छन् भने फलेबास नगरपालिका ११ पाङराङका २१ पुरुष तथा फलेबास नगरपालिका २ का २१ बर्षिय पुरुषले पनि कोरोना जितेका छन । बिहादी गाउँपालिका ४ वहाकीका ३९ बर्षिय पुरुषले पनि कोरोना जितेका छन । ९ जना संक्रमितको नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा बिहादी गाउँपालिकाका १ जना पुरुषको भने पोजेटिभ रिर्पोट आएको छ । भरतपुरमा ६० जनाको नमुना परिक्षणका लागि पठाइको थियो ।




