Print

कोरोना संक्रमण जितेकालाई लिन अस्पताल पुगे फलेवास नगरप्रमुख शर्मा

४ असार, पर्वत । विहिवार कोरोना अस्पतालमा खुशीयाली थियो । कोरोना लाग्यो भनेर डराएकाहरु पनि प्रसन्न थिए । केहि विरामीहरु वेडमै थिए । ति विरामीमा पनि पहिलेको जस्तो डर थिएन् । आइसोलेसन अस्पताल भनेको संक्रमणको उच्च जोखिम स्थान हो । यस अघि त्यो अस्पतालमा नपुगेका जनप्रतिनिधि र पत्रकार समेत अस्पतालमा पुगेका थिए ।

कोरोना रोग भन्दा बित्तिकै लाग्ने डर अहिले कम भएको छ । पर्वत जिल्लामा पहिलो पल्ट ५ जना संक्रमीत १४ दिन अघि फेला परेका थिए । संक्रमीत भेटिएपछि केहि त्रास छाएको पर्वत जिल्लाका लागि १४ दिन पछि खुशीको खबर आयो । संक्रमीतहरु मध्ये ८ जना एकै पटक निको भए । कोरोना रोग जितेका उनीहरु विहिवार डिस्चार्ज हुँदै थिए ।

पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले दिउँसो ३.४५ बजे डिस्चार्ज हुने समय तोकेका थिए । ति संक्रमीतलाई लिनका लागि फलेवास नगरपालिकाका नगरप्रमुख आफै कोरोना अस्पताल पुगे । अस्पतालमा रहेका आफ्नो नगरपालिकाका ४ जना संक्रमीत सहित सवै संक्रमीतलाई हौसला दिन उनी अस्पताल पुगेका हुन् ।

कोरोना अस्पतालमा जान संक्रमणको जोखिमका कारण धक मान्नेहरु पनि छन् । फलेवास नगरप्रमुख भने आफ्नो नगर भित्रका संक्रमीतहरुलाई लिनका लागि अस्पतालमै पुगेका थिए । उनले कोरोना संक्रमीतलाई विदेश नजान अनुरोध गरे । भारतबाट फर्केका उनीहरु भारतबाट आउने बेलामा संक्रमीत भएका थिए ।

स्वदेशमै केहि उत्पादनमुखी काम गर्न अनुरोध गर्दै नगरप्रमुख शर्माले त्यसको लागि नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताए । पालिका स्तरीय क्वारेन्टान बनाउन र कोरोना अस्पतालको ब्यवस्थापन गर्न नगरपालिकाले उल्लेख्य भूमिका खेलिरहेको समेत उनले बताए । ७ वटै पालिकाहरुको साझेदारीमा सञ्चालीत कोरोना अस्पतालमा जिल्ला भरीका विरामीहरुको उपचार हुन गर्दछ ।

कोरोना संक्रमण जितेकाहरु मध्येबाट फलेवासकै सेतु सुवेदीले यो रोगले खासै ठूलो शरीरमा असर नपारेको बताए । उनले घरेलु औषधिबाट नै संक्रमण जित्न सकिने बताए । अस्पतालको बसाईमा चिकित्सकहरुले राम्रो सहयोग गरेको उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले क्वारेन्टाइनहरुको बसोबासको ब्यवस्थापन उचित तरिकाले मिलाइएको बताए ।

संक्रमीतहरुलाई अस्पतालबाट विदाई गर्दै पर्वत जिल्ला अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले संक्रमणको लक्षण नदेखिएका कारण संक्रमीतहरुको स्वास्थ्य सामान्य रहेको बताए । उनले रिर्पोट नेगेटिभ आएपनि अवको १ हप्ता परिवार र समुदायबाट टाडा रहेर संक्रमणको जोखिम कम गर्न समेत अनुरोध गरे । मन दहे बनाएमा संक्रमण परास्त पार्न सकिने डा. देवकोटाको भनाई थियो ।

डिस्चार्ज भएका ८ जना संक्रमीतहरु नै आजै आफ्नो घर गएका छन् । डिस्चार्ज हुनेमा ४ जना फलेवास नगरपालिकाका, ३ जना महाशिला गाउँपालिकाका र १ जना विहादी गाउँपलिकाका स्थानीय छन् ।

संक्रमीतहरुलाई स्थानीय स्वास्थ्य चौकीहरुले पनि निरन्तर निगरानी गर्ने स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकारी प्रविन भण्डारीले जानकारी दिए । उनीहरु डिस्चार्ज भएसंगै अव पर्वतमा ३० जना संक्रमीतहरु रहेका छन् । जस मध्ये १ जना पोखरामा उपचाररत छन् भने २९ जना कोरोना अस्पतालमा रहेका छन् ।