३२ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना अझै वेपत्ता भएका छन् । शनिवार साँझबाट आएको खण्ड बृष्टिका कारण पहिरो जाँदा २ वटा घर पहिरोले पुरेको थियो । पहिरामा पुरी ९ जना मानिस वेपत्ता भएका थिए । २ वटा घरका उनीहरु मध्ये ३ जनाको भने हिजो राती शव फेला परेको थियो । बाँकी ६ जनाको खोजी कार्य जारी रहेपनि पत्ता लागेको छैन ।
पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको छ । उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती निकै निकालिएको थियो । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको पुरिएको हो । पहिरोमा थापाको परिवारमा थापाको परिवारमा ६ जना र विकको परिवारका ३ जना मानिस पुरिएका थिए । अहिले पहिरोग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पुरिएका मानिसहरुको खोजी गरीरहेको छ ।
हिजो राती करिब १० बजेको समयमा पहिरो गएको कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । ‘भिषण पानी आएको थियो’ उनले भने–‘गाउँमा भएको भौतिक क्षतिको विवरण संकलन हुँदैछ ।’ मनसुन शुरु हुनै लाग्दा उक्त वस्तीमा ठूलो मात्रामा पानी परेको थियो । बर्षातका कारण अन्य घरहरुमा समेत क्षति पुगेको स्थानीय इन्द्र पौडेल बताउँछन ।
पहिरोग्रस्त क्षेत्रमा उद्धारमा सुरक्षाकर्मीहरु र स्थानीयबासी हिजो रातिबाट खटिएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए । रातको समय भएका कारण हिजो राती नै थप उद्धार गर्न कठिनाइ भएको रेग्मीको भनाई छ । सुरक्षाकर्मी र स्थानीयबासी आइतबार विहान देखिन हराइरहेका मानिसहरुको खोजीमा जुटेका छन् ।
हिजो राती देखिको बर्षात अहिले पनि पर्वतका पूर्वी क्षेत्रहरुमा जारी रहेको छ । पूर्व तर्फका मोदी गाउँपालिका केहि वडाहरु र कुश्मा नगरपािलकाका उत्तरी क्षेत्र दुर्लुङमा भारी बर्षात भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु भएको र देशका केहि स्थानमा भिषण पानी पर्न सक्ने जनाईरहेको बेलामा दुर्लुङमा खण्ड बृष्टि भएको देखिन्छ । सोहि वडाका अन्य बस्तीहरुमा पानी नपर्ने र पहिरोग्रस्त स्थानहरुमा अत्याधिक पानी पर्दा त्यसले ठूलो क्षति पुराएको स्थानीयबासीको भनाई छ । सदरमुकाम कुश्मा बजारसंग जोडिएको दुुर्लुङमा पानी परेर पहिरो जाँदा सदरमुकाम कुश्मा र यस आपसापका अन्य वडाहरुमा भने बर्षात भएको छैन ।
खण्ड बृष्टि संगै घना बृष्टि भएका कारण त्यसले ठूलो क्षति पुराएको हो । क्षतिको थप विवरण अझै संकलन हुन सकिरहेको छैन् । हिजो रातको समयमा पहिरो गएपछि स्थानीबासीमा थप त्रास सृजना भएको थियो । केहि मानिसहरु घर भत्किने डरले सुरक्षित स्थानमा बसेका थिए । कतिपयलाई भत्कन लागेको घरबाट बाहिर निकालेर सुरक्षित राखिएको थियो । अहिले त्यस क्षेत्रमा सामान्य बर्षात भए पनि थप क्षति हुने भने नदेखिएको स्थानीयबासीको भनाई छ ।






